धादिङमा बरामद भएको सुन र डलर दुवै नक्कली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

धादिङमा बरामद भएको सुन र डलर दुवै नक्कली


२० श्रावण २०७९, शुक्रबार


काठमाडौँ । धादिङको खनियाँबास गाउँपालिका-४ का बेगबहादुर तामाङ (बेगे) बाट बरामद भएको सुन र अमेरिकी डलर दुवै नक्कली भएको पुष्टि भएको छ । 

मंगलबार उत्तरी धादिङको लपाङफेदीबाट धादिङबेँसी आउँदै गर्दा बेगेको साथबाट बरामद भएको एक किलो फाइन गोल्ड ९९९.९ लेखिएको बिस्कुट आकारको पहेँलो धातु र ५० रुपैयाँको ९७ र १०० रुपैयाँको १६३ थान डलर नोट परीक्षणका क्रममा नक्कली पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले बताए । 

मंगलबार ग१ज ६७५३ नम्बरको गाडीमा सदरमुकाम धादिङबेँसी आउँदै गर्दा बेगे र उनकै गाउँकी शोभा तामाङ पक्राउ परेका थिए । 

बेगेको घरबाट प्रहरीले तीनवटा पेस्तोल र पेस्तोलमा लाग्ने २० वटा गोली पनि बरामद गरेको छ । सुन ल्याउँदै छ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको एसपी सिंहले बताए । 

घरमा फेला परेको पेस्तोल एक थान अमेरिकी, एक थान चाइनिज र अर्को कटुवा रहेको छ । उनले भने, ‘एउटै व्यक्तिको घरबाट तीनवटा पेस्तोल, ठूलो परिमाणमा गोली फेला पर्नुले प्रहरीलाई नै चुनौती दिएको छ । 

पक्राउ परेको पेस्तोल माओवादी द्वन्द्वकालदेखि नै घरमा भएको बेगेले बताएको छ । सुन भनिएको धातु भने ‘केही वर्षअघि अन्य व्यक्तिबीच कारोबार हुन लागेको ठाउँबाट बेगेले सोही पेस्तोल प्रयोग गरेर लुटेको बयान दिएको छ ।’ पक्राउ परेका बेगेलाई हातहतियार तथा खरखजाना र नक्कली नोट (खोटा मुद्रा) कारोबारसम्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी रञ्जन अवालेले बताए । शोभालाई भने नक्कली नोट (खोटा मुद्रा) कारोबारमा मुद्दा चलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस