सप्तकोसी बाढी प्रभावितका लागि सरकारले माग्यो राहत सहयोग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सप्तकोसी बाढी प्रभावितका लागि सरकारले माग्यो राहत सहयोग


१९ श्रावण २०७९, बिहिबार


काठमाडौँ । सप्तकोसीको बाढीबाट प्रभावित परिवारलाई राहत तथा व्यवस्थापनका लागि सरकारले सरकारी, गैरसरकारी र व्यवसायीहरूसँग सहयोग मागेको छ ।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईका अनुसार प्राप्त राहत एकद्वार प्रणालीबाट सङ्कलन गर्ने र एकद्वारबाटै वितरण गरिनेछ ।

प्राधिकरणले जारी गरेको प्रेस नोटमा लेखिएको छ, ‘उद्धार गरिएका नागरिकहरूको व्यवस्थापनका लागि टेन्ट तथा अन्य बन्दोबस्तीका सामान पठाउने क्रम जारी छ । राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्था र व्यवसायीलाई समेत सहयोगका लागि आह्वान गरिसकिएको छ ।’

सङ्कलन गरिएका राहत उदयपुर र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी वा उनले तोकेको प्रतिनिधि तथा उदयपुरको बेलका र सुनसरीको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुखको संयोजनमा वितरण गरिने प्राधिकरणले जनाएको छ ।

सप्तकोसीको बाढी बुधबार बिहान करिब ४ बजेतिर उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ को डुम्रिबोटको बाँध भत्काउँदै बस्तीमा पसेको थियो । सो बाढीबाट उदयपुर र सुनसरीका २ हजार ३ सय घरधुरी प्रभावित भएको प्राधिकरणले जनाएको छ । बाढीबाट मानवीय क्षति भने भएको छैन । तर धान, मकै लगायतका खेतीबालीमा क्षति पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस