सङ्घ र प्रदेशको निर्वाचनमा महिला सहभागिता बढाउन सभामुखको आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सङ्घ र प्रदेशको निर्वाचनमा महिला सहभागिता बढाउन सभामुखको आग्रह


१२ श्रावण २०७९, बिहिबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको सहभागिता बढाउन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

शासन व्यवस्था र लोकतन्त्रलाई बलियो बनाउन तथा मुलुकको बहुआयामिक विकास गर्न पनि दलहरुले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाहरुको बढीभन्दा बढी सहभागिता गराउनुपर्ने सभामुख सापकोटाको भनाइ छ ।

काठमाडौँमा आज (बिहीबार) आयोजित ‘निर्वाचन प्रणाली र महिला प्रतिनिधित्व’ विषयक अन्तरक्रियामा उनले अहिले मतदाताहरुमा दलगत मतदान गर्ने अरुचि देखा परेको उल्लेख गर्दै त्यसलाई हटाउन पनि दलहरुले आगामी निर्वाचनहरुमा प्रत्यक्षतर्फ महिलाहरुको अधिक प्रतिनिधित्व गराउन जोड दिनुपर्ने बताए ।

सभामुख सापकोटाले जनताप्रति उत्तरदायी हुन पनि जनप्रतिनिधिहरुलाई सचेत गराए ।

जनप्रतिनिधिहरुको जीवनस्तरमा परिवर्तन आए पनि जनजीवनमा खासै परिवर्तन नआएकाले उनीहरुले गरेको हरेक प्रश्नको जवाफ जनप्रतिनिधिहरुले दिनुपर्ने बताए ।

‘हामी जनप्रतिनिधिहरुले जनताप्रति उत्तरदायी हुनैपर्छ । जनताको एक/एक प्रश्नको उत्तर हामीले दिनैपर्छ । जनताप्रति जबाफदेही हुने र उनीहरुको विश्वास लिएर मात्रै अघि बढ्न सकिन्छ,’ सभामुख सापकोटाले भने ।

कार्यक्रममा उपसभामुख पुष्पा भुसालले पनि आउँदो निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको सहभागिता अधिक गराउन राजनीतिक दलहरुको गम्भीर ध्यानाकर्षण गराइन् ।

समाजमा महिलाहरुलाई हेर्ने विद्यमान दृष्टिकोणमा आमूल परिवर्तन ल्याउन पनि राजनीतिक दलहरुले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको अधिक सहभागिता गराउन पहल गर्नुपर्नेमा उनको जोड थियो ।

पूर्व सभामुख ओनसरी घर्तीले आउँदो पुस्तालाई राजनीतिमा आकर्षित गराउन पनि अहिले नै राजनीतिक दलहरुले महिलाहरुलाई प्रत्यक्षतर्फको निर्वाचनमा बढीभन्दा बढी सहभागिता गराउन लाग्नुपर्ने खाँचो औँल्याइन् ।

उनले आरक्षण र विशेषाधिकार केही समयका लागि मात्रै भएकाले महिला नेतृत्व स्थापित गराउन महिला सांसदहरुले पनि पहलकदमी लिनुपर्ने बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस