पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न महासङ्घको माग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न महासङ्घको माग


१२ श्रावण २०७९, बिहिबार


काठमाडौँ । नेपाल पत्रकार महासङ्घले पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न माग गरेको छ ।

महासङ्घको आज (बिहीबार) काठमाडौँमा बसेको उपलब्ध केन्द्रीय कार्यसमिति बैठकले पत्रकारले पाउँदै आएको आधारभूत पारिश्रमिक अत्यन्तै कम भएको भन्दै पुनरावलोकन गर्न माग गरेको हो ।

बैठकले पारिश्रमिक वृद्धि गर्न न्यूनतम पारिश्रमिक निर्धारण समितिको ध्यानाकर्षण गराउने र कार्यान्वयनका लागि सरकारलाई थप दबाब दिने निर्णय गरेको महासङ्घका सचिव गोविन्द चौलागाईंले जानकारी दिए ।

हाल पत्रकारको आधारभूत पारिश्रमिक २४ हजार ५ सय रुपैयाँ छ । तर‚ अहिलेको बजार भाउअनुसार यो पारिश्रमिक नसुहाउँदो भएको भन्दै महासङ्घले पत्रकारको पारिश्रमिक बढाउन माग गरेको हो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिले यसअघि नै २५ प्रतिशत तलब वृद्धि गर्न सिफारिस गरेको थियो तर सरकारले यसबारे कुनै निर्णय गरेको छैन ।

महासङ्घले ज्येष्ठ पत्रकारहरूका लागि सरकारले हालै सुरु गरेको आजीवन वृत्ति उपलब्ध गराउने निर्णय कार्यान्वयनको स्वागत गरेको छ । तर‚ वृत्ति प्राप्त गर्नका लागि ज्येष्ठ पत्रकारले बेहोर्नुपर्ने झन्झटिला प्रक्रियालाई परिमार्जन गरी सरल तुल्याउन र यसलाई धेरैभन्दा धेरै पत्रकारको पहुँचमा पुर्‍याउनका लागि आग्रह गरेको छ ।

त्यस्तै, पारिश्रमिक नदिएर भएका आन्दोलन र त्यसपछि भएका सहमतिको कार्यान्वयनका लागि समेत महासङ्घले सम्बन्धित संस्थाहरूको ध्यानाकर्षण गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस