नागरिकता विधेयकको खुकुलो प्रावधानले सङ्गठित अपराध बढ्छ : देवकोटा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नागरिकता विधेयकको खुकुलो प्रावधानले सङ्गठित अपराध बढ्छ : देवकोटा


१२ श्रावण २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नागरिकता सम्बन्धी विधेयकको खुकुलो प्रावधानले नेपालमा सङ्गठित अपराध बढ्ने बताएका छन् ।

आज (बिहीबार) राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा बोल्दै सांसद देवकोटाले विधेयकमा वैवाहिक अङ्गीकृतको सम्बन्धमा खुकुलो प्रावधान राखिएको बताउँदै यसले नेपालमा सङ्गठित अपराध बढ्ने बताए ।

उनले भारतमा छोरीलाई विवाह गरेर पठाएमा ७ वर्षसम्म कुर्दा केही नबोल्ने नेपालीले विदेशी बुहारीलाई नागरिकता दिन भने ६ महिना पनि कुर्न नसकेको टिप्पणीसमेत गरे ।

उनले भने‚ ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष निवेदन दिनुपर्ने र त्यसरी निवेदन दिँदा विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेस गर्नुपर्ने व्यवस्था छ ।’

विदेशी मुलुकको नागरिकता त्याग गरेको कारबाही चलाएको सामान्य निस्सा मात्रै भए पुग्ने व्यवस्थाले विदेशी नागरिकता त्यागेको नठहरिने सांसद देवकोटाले बताए ।

‘ऊसँग दुई वटा नागरिकता कायमै रहन्छ । बरु २०७५ सालमा ल्याइएको विधेयकमा विवाहपछि नेपाली नागरिकता प्राप्त गरेको ६ महिनामा विदेशी नागरिकता त्यागेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था थियो । यस्तो व्यवस्था विधेयकबाट हटाउनु दुर्भाग्यपूर्ण छ‚’ उनले भने ।

भारतमा छोरीलाई विवाह गरेर पठाएमा ७ वर्षसम्म कुर्दा केही नबोल्नेहरू ६ महिना पनि कुर्न नसकेको उनले उनले बताए ।

सांसद देवकोटाले प्रश्न गरे, ‘३ करोड पनि जनसङ्ख्या नभएको नेपालमा ३०० करोड जनसङ्ख्या भएको चीन र भारतको जनसङ्ख्याको सानो अंश यताउता गर्दा नेपालको हालत के होला ?’

Tags :
प्रतिक्रिया दिनुहोस