भविष्यमा आउने महामारीसँग जुध्ने सामर्थ्य विकास गर्नुपर्ने खाँचो छ : प्रधानमन्त्री देउवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भविष्यमा आउने महामारीसँग जुध्ने सामर्थ्य विकास गर्नुपर्ने खाँचो छ : प्रधानमन्त्री देउवा


१२ श्रावण २०७९, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भविष्यमा आउने विभिन्न किसिमका महामारीसँग जुध्ने सामर्थ्य विकास गर्नुपर्ने आवश्यकता रहेको औँल्याएका छन् ।

केही समययता मत्थर हुँदै गएको कोभिड महामारी पुनः विस्तार हुँदै जाने खतरा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले त्यसलाई पूर्णरुपमा नियन्त्रण गर्नुपर्ने खाँचो रहेको बताए ।

वीर अस्पतालको १३३ औँ वार्षिकोत्सवको अवसरमा आज (बिहीबार) काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भविष्यमा आउन सक्ने विभिन्न महामारीहरुको नियन्त्रणका लागि पनि सरकारले आफ्नो सामर्थ्यको विकास गर्नुपर्ने बताए ।

क्यान्सरजस्ता घातक रोगहरुको समयमै सहज ढङ्गले उपचार हुने व्यवस्था मिलाउन पनि सम्बन्धित स्वास्थ्य संस्थाहरुले ध्यान दिने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे ।

‘केही समययता मत्थर भएको कोभिड महामारी पुनः विस्तारै फैलिँदै जाने खतरा देखिएको छ । अझ यसलाई पूर्णरुपमा नियन्त्रण गर्दै भविष्यमा आउन सक्ने अन्य विभिन्न किसिमका महामारीसँग जुध्ने सामर्थ्य हामीले विकास गर्नुपर्ने खाँचो छ, उनले भने, साथै क्यान्सरजस्ता घातक रोगको बिरामीहरुलाई समयमै सहज उपचार गराउने गरी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित पक्षले ध्यान दिने विश्वास लिएको छु । भविष्यमा प्रमुख स्वास्थ्य समस्या भनेको सर्नेभन्दा पनि नसर्ने रोगहरु छन् भन्ने विश्व स्वास्थ्य सङ्गठनले पूर्व अनुमान गरेको छ । हामीले पनि नसर्ने रोगका बिरामीहरुलाई सहज उपचारका लागि क्षमता विकास गर्दै जानुपर्ने आवश्यकता छ ।’

प्रधानमन्त्री देउवाले सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढङ्गले उपलब्ध गराउन सरकार कटिबद्ध रहेको पनि बताए । स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपमा संविधानमै व्यवस्था गरेको स्पष्ट पार्दै उनले सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था समेत सरकार गरेको बताए ।

‘स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता हो । नेपालको संविधानले स्वास्थ्यको हकलाई मौलिक हक अन्तर्गत समावेश गरी प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेको छ । तसर्थ नेपाल सरकार सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढङ्गले उपलब्ध गराउन कटिबद्ध छ, प्रधानमन्त्री देउवाले भने, स्वास्थ्य क्षेत्रको विकासका लागि सरकारले प्राथमिकताका साथ बजेट छुट्याएको छ । यस क्षेत्रको भौतिक संरचनाको निर्माण तथा मानवीय जनशक्तिको विकास लगायतका कार्यका लागि विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस