कृषि कार्यालय मुगुका तत्कालीन प्रमुख र वडाध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कृषि कार्यालय मुगुका तत्कालीन प्रमुख र वडाध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


११ श्रावण २०७९, बुधबार


काठमाडौँ । कृषि विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख र वडाध्यक्षसहित ९ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध सिँचाई कुलो निर्माणका लागि विनियोजित बजेट अनियमितता गरेको भन्दै विशेष अदालत काठमाडौँमा आज मुद्दा दायर गरेको हो ।

कर्मचारी, जनप्रतिनिधि तथा उपभोक्ता समितिका पदाधिकारीहरूको मिलेमतोमा छायानाथ रारा नगरपालिका १० स्थित तीनमुखे देखि लुवाबान्नासम्म सिँचाइ कुलो निर्माणका लागि विनियोजन गरिएको बजेट अनियमितता गरेका हुन् ।

छायानाथ रारा नगरपालिका वडा नम्बर १० का तत्कालीन अध्यक्ष धर्मदत्त सावत, कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पंचालाल बुढा र सब इन्जिनियर राजेन्द्र शाही, कर्मचारी मणिचन्द्र विक, जिल्ला समन्वय समितिका तत्कालीन कर्मचारी विश्वास उपाध्याय, उपभोक्ता समितिका अध्यक्ष बखत बहादुर सेजुवाल, सचिव लाल बहादुर सेजुवाल, कोषाध्यक्ष उजेली नेपाली र सहसचिव सुरेश बुढाविरुद्ध भ्रष्टाचारको मुद्दा लागेको हो ।

कृषि विकास कार्यालय मुगुबाट आर्थिक वर्ष २०७६/२०७७ मा विनियोजित बजेटमा उनीहरुले अनियमितता गरेको पाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार २३ लाख १० हजार ५९६ रुपैयाँ बिगो कायम गरी असुल उपरका लागि माग गरिएको छ ।

अख्तियारले कृषि विकास कार्यालय तत्कालीन प्रमुख बुढा र सब इन्जिनियर शाही, उपभोक्ता समितिका चारै जना पदाधिकारी र तत्कालीन वडाध्यक्ष सावतबाट बिगो रकम जफत गर्न माग गरेको छ । साथै कैद तथा जरिबाना सजायको माग दाबीसमेत लिइएको प्रवक्ता भण्डारीले बताए ।

कर्मचारीहरु मणिचन्द्र विक र विश्वास उपाध्यायले पनि गलत प्रतिवेदन दिएकाले अख्तियारले बिगो कायम नगरी सजायको माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस