जापानमा सातजनाको हत्या गर्ने एक पुरुषलाई दिइयो  फाँसी  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जापानमा सातजनाको हत्या गर्ने एक पुरुषलाई दिइयो  फाँसी 


११ श्रावण २०७९, बुधबार


काठमाडौँ । जापान सरकारले सन् २००८ मा राजधानी टोक्योमा छुरा प्रहार गरेर र ट्रकले किचेर सातजनाको ज्यान लिने एकजना ३९ वर्षीय पुरुषलाई मृत्युदण्ड दिएको छ । ती तोमोहिरो कातोले गरेको हत्या जापानको पछिल्लो इतिहासमा भएका सबैभन्दा भयावह अपराधमध्ये एक भएको बताइएको छ ।

२५ वर्षको उमेरमा उनले बटुवाहरूको भिडमा जथाभाबी ढङ्गले ट्रक चलाएर तीन जनाको ज्यान लिएका थिए । त्यसलगत्तै धारिलो हतियार प्रयोग गरी उनले अन्य चार जनाको ज्यान लिनुका साथै थप आठ जनालाई घाइते बनाएका थिए ।

उनलाई प्रहरीले घटनास्थलबाटै गिरफ्तार गरेको थियो । अदालतमा मुद्दाको सुनवाइको दौरान अपराध स्विकार्दै उनले अनलाइनमार्फत आफूलाई दिइने गरेको मानसिक यातनाका कारण आफू आक्रोशित र विक्षिप्त भएको बताएका थिए । 

यस हत्याकाण्डले जापानी समाजमा बारम्बार घट्ने हत्याकाण्ड, अनलाइनको प्रभाव र सरकारले युवा जगतलाई मानसिक स्वास्थ्यमा सहयोग गर्न नसकेको विषयमा विवाद चर्काएको थियो । यस घटनापछि जापान सरकारले साथमा छुरा बोक्ने कानुन पनि कडा बनाएको थियो । 

कातोलाई टोक्यो हिरासत केन्द्रमा फाँसी दिइएको हो । सन् २०१५ मा उनले मृत्युदण्डबाट बच्न गरेको अपिल अदालतले अस्वीकार गरेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस