४ बुँदे माग राख्दै प्राधिकरणका कर्मचारीहरु आन्दोलनमा « प्रशासन
Logo २ असार २०८१, आइतबार
   

४ बुँदे माग राख्दै प्राधिकरणका कर्मचारीहरु आन्दोलनमा


१० श्रावण २०७९, मंगलबार


काठमाडौँ । टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरु ४ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनले कर्मचारीहरुलाई पर्याप्त शुद्ध हावा, प्रकाश एवं उपयुक्त तापक्रमको प्रबन्धसहितको कार्यकक्षको व्यवस्थाको माग गर्दै हिजो (सोमबार)देखि आन्दोलनमा उत्रिएको दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष विजयकुमार राय यादवले बताए ।

उनले भने, ‘हामीले सोमबार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई चेतावनीसहितको पत्र बुझायौँ। तर उहाँले सुन्नु भएन। त्यस कारण हामी बाध्य भएर आन्दोलनमा उत्रिएका हौँ। आज दोस्रो दिन हो। शुक्रबारसम्‍म माग सम्बोधन नभए थप आन्दोलन गर्छौँ। ‘

अध्यक्ष यादवले सोमबार प्राधिकरणका अध्यक्षको कार्यकक्ष बाहिर धर्ना दिएको र कर्मचारी एवं युनियन सदस्यहरुले डिजिटल हस्ताक्षर टोकन सङ्कलन गरी व्यवस्थापन समक्ष बुझाएको बताए ।

उनले भने, ‘हामीले आज प्राधिकरणका अध्यक्षको कार्यकक्ष बाहिर धर्ना दियौँ। साउन १३ गते शुक्रबारसम्‍म हाम्रो माग सम्बोधन नभए दोस्रो चरणमा आन्दोलन घोषणा गर्छौँ।’

उनका अनुसार आन्दोलनको अवधिभर युनियनका कुनै पनि सदस्यहरु काममा नजानेसमेत बताए ।

आन्दोलनमा उत्रिएका प्राधिकरणका कर्मचारीहरुले श्रम नियमावली, २०७५ को नियम ४४ (ख) बमोजिम कर्मचारीहरुलाई पर्याप्त शुद्ध हावा, प्रकाश एवं उपयुक्त तापक्रमको प्रबन्धसहितको कार्यकक्षको व्यवस्था हुनुपर्ने, युनियनको तर्फबाट गत २ पुसमा बुझाएका मागहरु पूरा हुनुपर्ने, कर्मचारीहरूलाई प्रदान गरिँदै आएको ऋण सापटी सुविधालाई बिमासँग तत्काल आबद्ध गरिनुपर्ने माग गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस