भारतले नेपाली युवालाई गोर्खा सैनिकमा भर्ती गरे गोर्खा भर्ती सन्धि खारेज गर्नुपर्छ : रावल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भारतले नेपाली युवालाई गोर्खा सैनिकमा भर्ती गरे गोर्खा भर्ती सन्धि खारेज गर्नुपर्छ : रावल


८ श्रावण २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेका सांसद भीम रावलले भारतले सेनाका लागि ल्याएको नयाँ योजना ‘अग्निपथ योजना’ अन्तर्गत नेपाली युवालाई गोर्खा सैनिकमा भर्ती गरेमा गोर्खा भर्ती सन्धि खारेज गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद रावलले अग्निपथ योजना अन्तर्गत नेपाली युवालाई भारतीय गोर्खा सैनिकमा भर्ती गर्न लागेको हो कि होइन भनेर सरकारसँग जवाफ माग गरेका थिए ।

‘भारतले अग्निपथ योजना गोर्खा भर्तीको सन्दर्भमा लागू हुन्छ कि हुन्न ? त्यसो गरिएमा गोर्खा भर्ती सन्धिको उल्लंघन हुन्छ । त्यसो गरिएमा नेपालले गोर्खा भर्ती सन्धि खारेजको बाटोमा जानुपर्छ,’ उनले भने ।

भारतीय गोर्खा सैनिकमा भर्ना हुन तयार रहेका नेपाली युवालाई उक्त योजनाबारे सरकारले यथार्थ जानकारी दिनुपर्ने रावलको भनाइ थियो । उनले परराष्ट्रमन्त्री र प्रधानमन्त्रीले उक्त विषयमा सदनलाई जानकारी दिनुपर्ने बताए ।

भारतले यसैसालबाट सेनामा ४ वर्ष मात्रै काम गर्न पाउने योजना अगाडि सारेको छ । युवाहरू सेनामा भर्ती भएपछि ४ वर्षमा निवृत्त हुने योजना भारतमा लागू भएको छ । त्यसैलाई अग्निपथ योजना भनिएको छ । गोर्खा भर्ती सन्धि अन्तर्गत जाने नेपाली युवाहरूमा त्यो लागू हुन्छ कि हुन्न भन्ने कुरा भने यकिन छैन ।

भारतमा भने नरेन्द्र मोदी नेतृत्वको सरकारले ल्याएको उक्त योजनाको देशव्यापी रुपमा विरोध भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस