२ दिनदेखि हराएकी ४ वर्षीया बालिका मृत फेला « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

२ दिनदेखि हराएकी ४ वर्षीया बालिका मृत फेला


७ श्रावण २०७९, शनिबार


बालक

काठमाडौँ । वीरगञ्जमा दुई दिनदेखि हराईरहेकी ४ वर्षीया बालिकाको शव फेला परेको छ । वीरगञ्ज-२ छपकैया घुसुकपुर बस्ने सिकन्दर अलीको छोरी सुहाना खातुनको शव फेला परेको हो । बिहान स्थानीयले बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सुहाना साउन ५ गते बिहीबार अपरान्हदेखि नै हराएकी थिइन् । तर, अभिभावकले छोरी हराएको निवेदन साउन ६ गते शुक्रबार मात्रै प्रहरीकोमा दिएका थिए ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरी टोलीले शव जाँच मुचुल्का तयार गर्दैछ । त्यसपछि शव पोस्टमार्टमका लागि नारायणी अस्पताल लगिने प्रहरीले जनाएको छ ।

बालिकाको हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । घटनामा संलग्न भएको हुन सक्ने भन्दै प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । १४ वर्षीय बालक र अर्को एक जनालाई पक्राउ गरेको हो ।

घटनाको अनुसन्धानमा असर पर्न सक्ने भएकोले पक्राउ परेका व्यक्तिको परिचय गोप्य राखेको छ । दुवै जनाले घटनामा आफूहरूको संलग्नता अस्वीकार गरेका छन् । लडेर बालिकाको मृत्यु भएको दाबी उनीहरूको छ ।

प्रहरीले घटना किन र कसरी भयो ? घटनामा को को संलग्न थिए भन्ने अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले हत्या नै भएको हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाइएको जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस