४८ दिनपछि गाडेको अवस्थामा भेटियो निशाको शव, श्रीमानसहित ३ जना पक्राउ    « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

४८ दिनपछि गाडेको अवस्थामा भेटियो निशाको शव, श्रीमानसहित ३ जना पक्राउ   


७ श्रावण २०७९, शनिबार


काठमाडौँ । सर्लाहीको पर्सा गाउँपालिका-१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि शव फेला परेको छ ।

शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार रायले आफ्नै २० वर्षीय श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थामा शव फेला परेको हो ।

महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा माइती र ससुराली पक्षले दिएपछि खोजीमा जुटेको प्रहरीले ४८ दिनपछि धान खेतमा शव गाडिएको अवस्थामा फेला पारेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

हत्यामा संलग्न मृतक निशा यादवका श्रीमान् रमजेशकुमार राय, ससुरा रामप्रताप राय र देवर राजु यादवलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।

निशाका घरका सदस्यहरूमाथि प्रहरीको शङ्का लागेपछि प्रविधियुक्त विश्लेषण गर्ने क्रममा हत्यामा संलग्नहरूको पहिचान भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता यादवले जानकारी दिए । शुक्रबार सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलसमेत अनुसन्धान टोली घटनास्थलमा पुगेर धान खेतमा खाल्डो खन्दा सडिसकेको अवस्थामा शव फेला परेको हो ।

निशाको गएको जेठ २२ गतेका दिन नै हत्या भएको प्रहरी को भनाइ छ । महोत्तरी सोनमा गाउँपालिका-१ मगरथाना निवासी निशा यादवको गत वर्ष फागुनमा रमजेशकुमार रायसँग बिहे भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस