चिट लुकाएको भन्दै हेटौँडा क्याम्पसमा छात्राहरूमाथि ‘दुर्व्यवहार, विरोधमा उत्रेका विद्यार्थीले गरे तोडफोड « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चिट लुकाएको भन्दै हेटौँडा क्याम्पसमा छात्राहरूमाथि ‘दुर्व्यवहार, विरोधमा उत्रेका विद्यार्थीले गरे तोडफोड


४ श्रावण २०७९, बुधबार


काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-४ मा रहेको हेटौँडा क्याम्पसमा परीक्षा दिन पुगेका दुईजना छात्रामाथि ‘अनुचित व्यवहार’ भएको भन्दै विरोध प्रदर्शन गरिएको छ । 

प्रदर्शनकारीले आज बिहानैबाट नाराबाजी गर्नुका साथै क्याम्पसमा तोडफोडसमेत गरेका छन् ।

मकवानपुर बहुमुखी क्याम्पसबाट परीक्षाको लागि हेटौँडा क्याम्पस पुगेका दुई छात्राले कर्मचारीले आफूहरूलाई दुर्व्यवहार गरेको बताएका थिए । ‘चिट लुकाएको’ भन्दै आफूहरूको भित्री वस्त्रसमेत खोल्न लगाइएको ती छात्राको दाबी छ । उनीहरूले घटना सार्वजनिक गरेपछि विद्यार्थीहरू आक्रोशित बनेका छन् ।

पीडित विद्यार्थीले आफू महिनावारी भएको र ‘प्याड’ प्रयोग गरेको भन्दा समेत कर्मचारीले ‘प्याड’ मा समेत चिट हुन्छ भन्दै खोल्न लगाएको बताएका छन् । 

यस घटनालाई लिएर मकवानपुरमा क्रियाशील विद्यार्थी सङ्गठनहरूले आपत्ति जनाएका छन् । दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्न उनीहरूको माग छ ।

अनेरास्ववियुका स्थायी कमिटी सदस्य सन्तोष पौडेलले विद्यार्थीको कपडा खोलेर जाँच गर्ने अधिकार कोहीसँग नभएको बताए ।

हेटौँडा क्याम्पसका सहायक क्याम्पस प्रमुख देवीराम लामाले घटनाबारे आफूहरूको ध्यानाकर्षण भएको बताए । यसबारे अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गरिने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । आफूहरूले सर्वपक्षीय छलफल गरी दोषीको पहिचान गर्ने पनि उनले दाबी गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस