एयरपोर्टबाट ४८० किलो सुन बरामद, साढे ४५ करोड राजस्व असुली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एयरपोर्टबाट ४८० किलो सुन बरामद, साढे ४५ करोड राजस्व असुली


१ श्रावण २०७९, आइतबार


काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सारले ७ महिनामा हवाई यात्रुको साथबाट ४८० किलो अवैध सुन बरामद गरेको छ । 

जसबाट विमानस्थल भन्सार कार्यालयले ४५ करोड ५८ लाख राजस्व असुली गरेको छ । झिटीगुन्टा सुविधाको दुरुपयोग गर्दै हवाई यात्रुले ल्याउने सुनमा कडाइ थालेको ७ महिनामै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक महेश भट्टराईकाअनुसार यस अवधिमा यात्रुहरूबाट ४८० किलो अवैध सुन बरामद भएको छ ।

१३ मंसिरदेखि सुरु गरिएको यस्तो कडाइका क्रममा सुरुवाती दिनमा दैनिक २१ किलोसम्म सुन बरामद हुने गरेकोमा अहिले दैनिक एक किलो हाराहारीमा झरेको भट्टराईले बताए ।

कानुनतः विदेशबाट नेपाल आउने यात्रुले आफ्नो साथमा अधिकतम १०० ग्रामसम्म काँचो सुन भन्सार राजस्व तिरेर ल्याउन पाउँछन् । सुनको गहनाको हकमा अधिकतम २५० ग्रामसम्म साथमा लगाएर आउन पाइने कानुनी व्यवस्था छ । जसमध्ये पहिलो ५० ग्रामसम्मको गहनामा राजस्व छुट सुविधा उपलब्ध हुन्छ भने सो भन्दा बढी २०० ग्रामसम्मको गहनाको हकमा भन्सार राजस्व तिरेर मात्र ल्याउन पाइन्छ ।

१०० ग्राम भन्दा बढी काँचो सुन र २५० ग्राम भन्दा बढी सुनका गहना ल्याएको हकमा त्यस्तो सुन तथा सुनका गहना जफत गरी भन्सार कानुन बमोजिम कारबाही गर्ने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस