मोरङ कारागारका कैदीबन्दीमा कोरोना संक्रमण, उपचारको क्रममा एक जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मोरङ कारागारका कैदीबन्दीमा कोरोना संक्रमण, उपचारको क्रममा एक जनाको मृत्यु


३१ असार २०७९, शुक्रबार


विराटनगर । मोरङ कारागारका कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ । यसै क्रममा एक कैदीको हिजो (बिहीबार) राति उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैदीबन्दीलाई अत्याधिक ज्वरो आएपछि कोसी अस्पतालमा उपचार गर्ने क्रममा एन्टिजेन परीक्षण गर्दा १८ मध्ये १६ को रिपोर्ट पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञ खरेलले बताए ।

उनकाअनुसार एन्टिजेन परीक्षणको रिपोर्ट पोजेटिभ हुने ९९ प्रतिशतलाई कोभिड हुने निश्चित हुन्छ ।

उनीहरुलाई कोसीको कोभिड अस्पतालमा सारेर उपचार गर्ने तयारी भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीनाथ दाहालले बताए ।

अस्पताल र कारागारको स्थलगत अनुगमनमा रहेका दाहालका अनुसार कारागारका सबै कैदीबन्दीको ज्वरो परीक्षण गरेर शङ्कास्पदलाई आइसोलेट गर्ने तयारी भइरहेको छ ।

यसअघि यहाँका सबै कैदीबन्दीलाई कोभिडको दोहोरो भ्याक्सिन लगाइएको थियो ।

उनकाअनुसार कोभिड संक्रमण देखा पर्न थालेपछि सबै सीमानाकामा स्वास्थ्य परीक्षण सुरु गरेर स्थानीय निकायलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन र कोभिड परीक्षणको प्रक्रिया थाल्न आग्रह गरिएको छ ।

उनले कोभिड सङ्क्रमितको उपचारका लागि सबै आइसोलेसनलाई पुनः प्रयोगमा ल्याउने तयारी गरेका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार १०५ डिग्रीसम्म ज्वरो आएका ज्यान मुद्दाका कैदी नीरबहादुर नेपालको उपचारका क्रममा मृत्यु भएको हो ।

अत्याधिक गर्मी र साँघुरो स्थानले कारागारमा कैदीबन्दीलाई सकस हुँदै आएको छ । करिब तीन सय अट्ने क्षमताको मोरङ कारागारमा करिव एक हजार कैदीबन्दी राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस