दलित समुदायमाथि अमानवीय व्यवहार रोकिएको छैन : सांसद विना पोखरेल « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

दलित समुदायमाथि अमानवीय व्यवहार रोकिएको छैन : सांसद विना पोखरेल


२८ असार २०७९, मंगलबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद विना पोखरेलले दलित समुदायमाथि हुने अमानवीय व्यवहारहरूको अन्त्य हुन नसकेको बताएकी छिन् ।

मङ्गलवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद पोखरेलले देशमा ठुलो राजनीतिक परिवर्तन भए पनि दलित समुदायमाथि हुने अपमान र अमानवीय व्यवहारहरूको अन्त्य हुन नसकेको बताएकी हुन् ।

अझै पनि दलित समुदायलाई अपमान गर्ने संस्कार समाजमा रहेको भन्दै त्यस्तो संस्कारगत चेतनालाई बदल्न राज्यले प्रभावकारी अभियान चलाउनुपर्ने उनको भनाइ थियो ।

निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाउनुपर्ने र दलितको प्रतिस्पर्धा दलितसँग मात्रै हुने व्यवस्था मिलाउनुपर्ने उनले बताइन् ।

‘दलित समुदायमाथिको अपमान र अमानवीय व्यवहार अझै अन्त्य हुन सकेको छैन । त्यसैले हाम्रो समाजको संस्कारगत चेतनालाई बदल्न अत्यन्तै सशक्त र प्रभावकारी अभियान चलाइनुपर्दछ ।

जसको पहल स्वयम् राज्यले लिनुपर्दछ । निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाइनुपर्दछ । र दलितको प्रतिस्पर्धा दलितसँग मात्र हुने व्यवस्था गरिनुपर्दछ । दलितको नाममा साहु, महाजनको होइन, दलितभित्रकै निम्न वर्गको प्रतिनिधित्वमा जोड दिइनुपर्दछ ।

दलित समुदायमाथिको दुर्व्यवहार र अपमानलाई दण्डनीय अपराध मानिनु पर्दछ । र, सोहीअनुरूप कानुन बनाई लागू गरिनुपर्दछ,’ उनले भनिन् ।

सांसद पोखरेलले दलित समुदायभित्रै भएका विभेदहरूको पनि अन्त्य हुनुपर्नेमा जोड दिइन् । उनले विद्यालयका पाठ्यक्रमहरूले पनि रूढिवादी र अन्धविश्वास कुराहरू सिकाइरहेको भन्दै पाठ्यक्रमहरू दलित समुदायमैत्री हुनुपर्ने बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस