सशस्त्र प्रहरी बलका ५७ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सशस्त्र प्रहरी बलका ५७ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान


२७ असार २०७९, सोमबार


काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित एक समारोहका बिच हालै पदोन्नति भएका ५७ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सो समारोहमा दर्ज्यानी चिन्हबाट सुशोभन हुनेहरूमा सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महत, नेपाल सरकार गृह मन्त्रालय सचिव स्तरको असार २४ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका ५६ जना अधिकृतहरू र अवकाश पूर्व विशेष बढुवा हुनुभएका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेशलाल श्रेष्ठ रहेका छन् ।

त्यस अवसरमा महानिरीक्षक अर्यालले पदोन्नति भएका अधिकृतहरूलाई बधाई दिँदै कार्य सफलताको शुभकामना समेत व्यक्त गरे । महानिरीक्षक अर्यालले पदोन्नति सँगै प्राप्त भएको दर्जा अनुरूपको कार्यसम्पादनमा पूर्ण व्यावसायिक भई क्रियाशील रहन अधिकृतहरूलाई निर्देशन दिँदै सबै राष्ट्रसेवक सशस्त्र प्रहरीहरू अनुशासित र इमान्दारितापूर्वक सामूहिक भावनाका साथ प्राप्त जिम्मेवारीका क्षेत्रहरूमा क्रियाशील रहँदै राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा कटिबद्ध भई क्रियाशील रहने विश्वास समेत व्यक्त गरे ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस