माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाँणबीच नागरिकता विधेयकबारे छलफल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाँणबीच नागरिकता विधेयकबारे छलफल


२७ असार २०७९, सोमबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् ।

आज (सोमबार) बिहान दाहाल निवास खुमलटारमा भएको भेटमा सरकारले संसदमा पेस गरेको नागरिकता विधेयकबारे छलफल गरेको र छलफल सकारात्मक भएको गृहमन्त्री खाँणको भनाइ उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ ।

सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता गरेको थियो । राज्य व्यवस्था समितिले २०७७ असार ९ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको थियो ।

सरकारले त्यो प्रतिवेदन असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको छ । सोही विधेयकमा सहमति जुटाउनका लागि सरकारका तर्फबाट विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्ने क्रममा आज माओवादी अध्यक्ष प्रचण्डसँग भेटघाट गरेको मन्त्री खाँणको सचिवालयले जनाएको छ ।

हिजो (आइतबार) साँझ गृहमन्त्री खाँणले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग उनकै निवास बालुवाटारमा भेटघाट गरेका थिए ।

नागरिकता सम्बन्धी नयाँ विधेयकले अहिले देखिएको नागरिकतासम्बन्धी समस्यालाई सम्बोधन गर्ने सरकारको विश्वास छ । विधेयक पास भएमा नागरिकता नपाएका लाखौँ युवालाई नागरिकता प्रदान गर्न विधेयकले सहयोग पुर्‍याउने अपेक्षा सरकारको छ ।

नेपालको संविधान २०७२ ले गैर आवासीय नेपाली नागरिकलाई पनि राजनीतिक र प्रशासनिक बाहेकका सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ ।

यो विधेयकमा सरकारले गैर आवासीय नेपालीलाई पनि नेपाली नागरिकता दिने भन्ने संवैधानिक प्रावधानलाई सम्बोधन गर्ने गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस