त्रिविले परीक्षामा लापरबाही गरेको भन्दै नेविसंघले डिन कार्यालयमा लगायो ताला « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

त्रिविले परीक्षामा लापरबाही गरेको भन्दै नेविसंघले डिन कार्यालयमा लगायो ताला


२७ असार २०७९, सोमबार


काठमाडौँ । सत्तारूढ नेपाली काँग्रेसको भ्रातृ सङ्गठन, नेपाल विद्यार्थी सङ्घले त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयमा ताला लगाएका छन्।

काठमाडौँ उपत्यकाभित्रका विभिन्न क्याम्पसका नेविसंघ इकाई सभापतिसहितले आज कीर्तिपुर पुगेर डिन कार्यालयमा ताला लगाएका हुन्।

उनीहरूले व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माको राजीनामा मागेका छन्।

असार २२ गते मात्रै बिबिए छैटौँ सेमेस्टरको ‘एमजीटी २०३स् अर्गनाइजेसन बिहेव्यर’ को प्रश्नपत्र मोर्डन कलेजको ‘प्रि-बोर्ड’ परीक्षाको प्रश्नसँग हुबहु मिलेपछि नेविसंघले डिनको राजीनामा मागेको हो।

नेविसंघ नेताहरू मदनराज उपाध्याय, विवेक लामा घिसिङ, केशरजंग बम, विष्णु बडेला, अशोकसिंह विष्ट, दीर्घराज भट्ट, हरिश देउवा, लक्ष्मण भाट, सुस्मा पाण्डे, श्याम ओझा, किशोर जोशी, नीराजन सुवेदी लगायतले त्रिविले परीक्षामा लापरबाही गरेको भन्दै विरोध गरेका छन्।

डिन शर्माले राजीनामा नदिएसम्म ताला नखुल्ने नेविसंघ नेता उपाध्यायले बताए। यसअघि नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै त्रिविका परीक्षामा लापरबाही देखिएकोले पदाधिकारीले राजीनामा दिनुपर्ने बताएका थिए।

प्रश्नपत्र हुबहु मिलेपछि त्रिवि व्यवस्थापन संकायले आइतबार छानबिनका लागि उच्चस्तरीय समिति पनि गठन गरेको थियो भने प्रश्नपत्र निर्माणमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याइएको बताएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस