नेता लिउद्वारा नेपालमा चीनविरोधी गतिविधि नहोस् भन्ने धारणा व्यक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेता लिउद्वारा नेपालमा चीनविरोधी गतिविधि नहोस् भन्ने धारणा व्यक्त


२६ असार २०७९, आइतबार


काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालमा कुनै पनि चीनविरोधी गतिविधि हुन नपाओस् भन्ने धारणा व्यक्त गरेका छन् ।

उनले आज (आइतबार) दिउँसो काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै बालुवाटार र सिंहदरबारमा भेटवार्ता गर्दै नेपाली भूमिमा कुनै पनि चीनविरोधी घटना नहोस् भन्ने चीनले चाहेको प्रस्ट पारेका हुन् ।

दुवै भेटवार्तामा उपस्थित कूटनीतिज्ञ तथा देउवाका अघिल्लो कार्यकालमा परराष्ट्र सल्लाहकार रहेका दिनेश भट्टराईले सीपीसीका विदेश विभाग प्रमुख लिउले आफ्नो भ्रमण नेपालका राजनीतिक दलहरुसँग सहकार्य गर्न र सम्बन्ध बढाउनको लागि पनि भएको बताएको जानकारी दिए ।

‘नेपाली भूमिमा चीनविरोधी कुनै पनि गतिविधि हुन नपाओस्,’ लिउलाई उद्धृत गर्दै भट्टराईले भने ।

भट्टराईका अनुसार काँग्रेस सभापति तथा प्रधानमन्त्री देउवा र परराष्ट्र मन्त्री खड्काले ‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपालमा कुनै पनि चीन विरोध गतिविधि हुन दिन्नौँ’ भन्दै लिउलाई आश्वस्त पारेका थिए ।

प्रधानमन्त्री देउवाले लिउलाई आफूले नै नेपालमा रहेको दलाई लामाको कार्यालयलाई बन्द गराएको स्मरण गराएका थिए । देउवाले लाजिम्पाटमा रहेको दलाई लामाको नेपालस्थित कार्यालय बन्द गराएका थिए । जवाफमा लिउले त्यसको लागि देउवालाई विशेष धन्यवाद दिएर उक्त निर्णयको प्रशंसा गरे ।

भट्टराईले देउवासँग सरकारभन्दा पनि पार्टीको रुपमा बढी कुराकानी भएको बताए । लिउले आफू विशेष गरी पार्टी/पार्टी सम्बन्धलाई जोड दिन चाहेको बताएका थिए ।

उनले त्रिभुवन विमानस्थलमा काँग्रेस, एमाले र माओवादी केन्द्रको तर्फबाट आफूलाई भएको स्वागतको बारेमा पनि संवादमा प्रशंसा गरे ।

उनले नेपालमा चीनको मामिलालाई लिएर सबै पार्टीहरु बीचमा एकै धारणा र विचार पाउँदा आफूलाई खुसी लागेको बताएका थिए । लिउलाई स्वागत गर्न काँग्रेसबाट दिनेश भट्टराई, एमालेबाट राजन भट्टराई, माओवादबाट सुरेन्द्र कार्की विमानस्थल पुगेका थिए ।

‘पार्टीहरु बीचको चीन मामिलामा एकता देखेर हामी उत्साहित छौँ,’ लिउले भनेका थिए । लिउले अहिलेको विश्वपरिस्थिती, अहिलेको तरल अवस्था, अलमल र अस्थिर रहेको बारेमा बताएको भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले नेपाल असंलग्न राष्ट्र रहेको र कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने बारेमा प्रस्ट पारेको भट्टराईले बताए । परराष्ट्र मन्त्री खड्काले ‘नेपाल र चीनको फ्रेन्डसीप एकदम महत्त्वपूर्ण रहेको बताएका थिए । ‘यो मित्रतालाई कायम राख्न चाहन्छौँ र अघि बढाउन चाहन्छौँ,’ खड्काको भनाई थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस