वर्षाका कारण डोटीका ग्रामीण क्षेत्रका सडक अवरुद्ध « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वर्षाका कारण डोटीका ग्रामीण क्षेत्रका सडक अवरुद्ध


२६ असार २०७९, आइतबार


काठमाडौँ । लगातारको वर्षाले डोटीका ग्रामीण क्षेत्रका सडक अवरुद्ध भएका छन् । वर्षाले ठाउँ-ठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि ती क्षेत्रमा सवारीसाधन सञ्चालन हुन छाडेका छन् । वर्षाका कारण ग्रामीण सडक भत्किएका तथा बिग्रिएपछि यातायात सञ्चालन गर्न समस्या भइरहेको शैलेश्वरी यातायात प्रालिका प्रमुख प्रेमबहादुर रावलले जानकारी दिए ।

सडक डिभिजन कार्यालय दिपायल कुल्पातेका अनुसार वर्षाका कारण जोरायल, गड्सेरा, दिपायल नापानी, बोगटान, धुर्कोट, मुडभारा, नारीदाङ, गैराधुर्कोट सडकमा यातायात अवरुद्ध छन् । बिग्रिएका सडकमा स्काभेटर लगाएर सञ्चालन गर्न खोजिए पनि वर्षा नरोकिएका कारण अहिलेसम्म यहाँका ग्रामीण सडक सञ्चालनमा ल्याउन नसकिएको बताइएको छ ।

गाउँका सडकमा यातायातका साधन सञ्चालन हुन बन्द भएपछि अहिले किसानले उत्पादन गरेका तरकारी बजारसम्म लैजान नपाउँदा बारीमै कुहिन थालेको जोरायल-५ का किसान लीलाभर विष्टले बताए ।

यसैगरी, वर्षाले गाउँका सडक अवरुद्ध हुँदा स्थानीयवासी तथा किसानलाई निकै सास्ती भएको छ । गाउँघरमा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि समस्या भएको निरौलीका स्थानीयवासी सुरेन्द्रबहादुर बोहराले जानकारी दिए । नदी तथा खोलामा बाढी आएका कारण जोखिम निम्तिन सक्ने भन्दै स्थानीयवासीमा त्रास उत्पन्न भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस