श्रीलङ्कामा राष्ट्रपति र प्रधानमन्त्री दुवैको राजीनामा माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

श्रीलङ्कामा राष्ट्रपति र प्रधानमन्त्री दुवैको राजीनामा माग


२५ असार २०७९, शनिबार


काठमाडौँ । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्ष उनको सरकारी आवासबाट भागेपछि प्रधानमन्त्री रनिल विक्रमासिघेंको आह्वानमा बसेको सर्वदलीय बैठकमा राष्ट्रपति र प्रधानमन्त्री दुवैको राजीनामा मागिएको छ ।

राष्ट्रपतिको सरकारी आवासमा आज प्रदर्शनकारी प्रवेश गरेपछि गोटाबाया सुरक्षित स्थानतर्फ भागेका छन् । तर उनी कहाँ छन् भन्ने हालसम्म खुलाइएको छैन । श्रीलङ्काका सभामुख महिन्दा यापा एवेयवारदेनाको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिएर सभामुखलाई अन्तरिम राष्ट्रपति बनाउनुपर्ने सुझाव दिइएको थियो ।

बैठकमा सहभागी श्रीलङ्का मुस्लिम काँग्रेसका सांसद रोफ हाकिमका अनुसार सुझावप्रति प्रधानमन्त्री विक्रामासिंघे सकारात्मक बनेनन् । प्रधानमन्त्री विक्रामासिघेंले राजीनामा दिन अस्वीकार गरेपछि बैठकमा कुनै सहमति नबनेको हाकिमले बताए ।

​तथापि सभामुखले राष्ट्रपति र प्रधानमन्त्री दुवैलाई लिखित रूपमा राजीनामा माग्ने निर्णय गरेको र सबै जसो दलका नेताले यसप्रति सहमति जनाएको पनि हाकिमले खुलासा गरे । बैठकमा सर्वदलीय सरकार बनाएर अहिलेको सङ्कटबाट सबै मिलेर बाहिरिनुपर्ने सुझाव पनि राखिएको पनि बताइएको छ ।

सभामुखको आवासमा आयोजित बैठकमा प्रधानमन्त्री विक्रमासिंघेलगायत केही नेता भने जुममार्फत जोडिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस