घाइतेको उपचारमा कमी हुन नदिन गृहमन्त्रीको निर्देशन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

घाइतेको उपचारमा कमी हुन नदिन गृहमन्त्रीको निर्देशन


२४ असार २०७९, शुक्रबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सङ्खुवासभाको चैनपुर नगरपालिका-१० दुम्कटामा भएको ट्याक्टर दुर्घटनाका घाइतेको उपचारमा कुनै कमी हुन नदिन सम्बद्ध अधिकारीलाई निर्देशन दिएका छन् ।

गृह सचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेल, सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडासहित सुरक्षा अधिकारीलाई घाइतेको तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

मलामी बोकेको को २त ३९६१ नम्बरको ट्याक्टर खाँदबारी–लेगुवा सडक खण्डको चैनपुर-१० दुम्कटामा दुर्घटना हुँदा दुईको मृत्यु भएको र ३१ जना घाइते भएका प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिए ।

घाइतेमध्ये आठको अवस्था गम्भीर रहेको उनले बताए । गम्भीर छ बिरामीलाई स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रजिअ खतिवडाले जानकारी दिए ।

गम्भीर घाइते दुई जनाको जिल्ला अस्पताल खातबारीमा उपचार भइरहेको छ । मृत्यु हुनेमा चैनपुर नगरपालिका-१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका-९ का ४६ वर्षीय केशव कार्की रहेका जनाइएको छ ।

प्रहरीले सवारी चालक चैनपुर नगरपालिका-१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस