मल आयातमा विदेशी मुद्रा सटही सुविधा दिन निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मल आयातमा विदेशी मुद्रा सटही सुविधा दिन निर्देशन


२३ असार २०७९, बिहिबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले कृषि सामग्री कम्पनीले भारतबाट मल ल्याउन आवश्यक पर्ने विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउन वाणिज्य बैङ्कहरूलाई निर्देशन दिएको छ ।

राष्ट्र बैङ्क विदेशी विनिमय व्यवस्थापन विभागले यसअघिको एकीकृत निर्देशिका संशोधन गरेर उक्त निर्देशन दिएको हो ।

नेपाल सरकारले भारतबाट मल ल्याउन भारतीय सरकारसँग सम्झौता गरेसँगै राष्ट्र बैङ्कले पनि बैङ्कहरूलाई उक्त निर्देशन जारी गरेको हो ।

‘कृषि सामग्री कम्पनी लिमिटेडले सरकारस्तरीय सहमति गरी सोही खरिद व्यवस्थाअन्तर्गत भारत सरकार वा भारत सरकारको सार्वजनिक निकायसँग प्रतितपत्रमार्फत रासायनिक मल खरिद गर्दा परिवर्त्य विदेशी मुद्रामा समेत खरिद गर्नुपर्नेछ,’ राष्ट्र बैङ्कको निर्देशनमा भनिएको छ ।

जीटूजी व्यवस्था (सरकार) मार्फत भारतबाट नेपालमा युरिया र डीएपी मल आपूर्तिका लागि नेपाल सरकारले भारतीय सरकारसँग गत फागुनमै सम्झौता गरेको हो ।

पाँच वर्षका लागि भएको उक्त सम्झौताअनुसार यो आर्थिक वर्ष १ लाख ५० हजार टन मल ल्याइने बताइएको छ ।

जसमा ६० प्रतिशत युरिया र ४० प्रतिशत डीएपी मल आयात हुने कृषि सामग्री कम्पनीले जानकारी दिएको छ ।

दुई पक्षबीच भएको उक्त समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई केही हदसम्म समाधान हुने दाबी सरकारले गर्दै आएको छ ।

यही प्रक्रियाअनुसार आयात गरिने मलका लागि भुक्तानी गर्न आवश्यक विदेशी मुद्रा सटही सुविधा दिन राष्ट्र बैङ्कले बैङ्कहरूलाई निर्देशन दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस