नेपाल-भारत झुलाघाट नाका खुल्यो « प्रशासन
Logo २४ श्रावण २०७९, मंगलबार
   

नेपाल-भारत झुलाघाट नाका खुल्यो


२२ असार २०७९, बुधबार


बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खुलेको छ ।

नाका बुधबार अपराह्न ४ बजेपछि खुलेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । महाकाली नदीमाथिको रहेको उक्त पुलको भारतीय सिमानातर्फ बेस (काठ) लक भाँच्चिएपछि मर्मतका लागि मङ्गलवार साँझदेखि बन्द गरिएको थियो । भारत सरकारले निर्माण गरेको उक्त पुल भारतीय पक्षले नै मर्मत गरेको हो ।

पुल मर्मतपछि नाकामा आवातजावतसमेत सञ्चालनमा आएको छ । यसअघि पुलको लक भाँचिएको सूचना प्राप्त भएपछि दुवै देशका सुरक्षा निकायले मङ्गलवार दिउँसो पुलको अवलोकन तथा निरीक्षण गरेपश्चात् मर्मत गर्ने सहमति भएको थियो ।

पुल जीर्ण भएको कारण पुल मर्मत नगरी सञ्चालनमा ल्याउँदा थप जोखिम सिर्जना हुनसक्ने विषयलाई मध्यनजर गर्दै पुलबाट हुने सबै आवागमन रोकेर मर्मत गरिएको हो । वर्षौँ पुरानो झोलुङ्गे पुल बेलाबेला मर्मत गरिँदै आएको छ । तत्कालको लागि काम दिने गरी मर्मत भएको पुलमा जोखिम भने कायमै छ ।

ब्रिटिसको पालामा बनेको पुल १८३० बाट सञ्चालनमा आएको थियो । पुरानो काठको पुल भारतीय पक्षले बेलाबेला कामचलाउको लागि मर्मत गरे पनि पूर्णरुपले मर्मत हुन सकेको छैन ।

झुलाघाटको महाकाली नदीमा मोटरे बल पुलको आवश्यकता भए पनि अहिलेसम्म मोटरे बल पुलको काम अघि बढ्न सकेको छैन । उक्त नाकामा मोटरे बल पुलको माग गर्दै बैतडीवासी ३८ दिन लामो रिले अनशन बसेका थिए तर उक्त मागको कुनै सुनुवाइ भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस