बाढीले विद्युतका पोल ढालेपछि त्रियुगा र चौदण्डीगढी नगर क्षेत्र अन्धकार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाढीले विद्युतका पोल ढालेपछि त्रियुगा र चौदण्डीगढी नगर क्षेत्र अन्धकार


२१ असार २०७९, मंगलबार


उदयपुर । जिल्लाको त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा गत शनिबार आएको बाढीले विद्युतका पोल ढालेपछि ती नगर क्षेत्र सहित अन्य गाउँ अन्धकारमय बन्न पुगेका छन् ।

त्रियुगा –२ लुहालेखोलामा आएको बाढीले विद्युत् पोल ढालेपछि अहिले नगरको वडा नं १ जोगीदह, २ को खैजनपुर र ३ को मोतीगडा, चाप, भुल्के गाउँ अन्धकारमय बन्न पुगेका छन् ।

भुल्केका स्थानीय ईश्वरीप्रसाद भट्टराईले पटक–पटक विद्युत् प्राधिकरणलाई ध्यानाकर्षण गराउँदा पनि अहिलेसम्म पोल मतमत नभएको बताए।

शनिबारकै वर्षाको कारण बाढीले चौदण्डीगढी –१ र २ तथा ५, ९ र १० वडा जोड्ने विद्युत् पोल ढालेको थियो । चौनपा–२ रानीवासका स्थानीय तेजेन्द्र कार्की भन्छन्, ‘चार दिनदेखि निरन्तर अन्धकारमा बस्दै आएका छौँ, विद्युत् प्राधिकरणलाई पटक–पटक पोल मर्मत गर्न अनुरोधसमेत गरेका छौँ तर अहिलेसम्म बिजुली बलेको छैन ।’

विद्युत् प्राधिकरण गाईघाटका इन्जिनियर सत्यनारायण साह भन्छन्, ‘बाढीले धेरै पोल ढालेर क्षति पुर्‍याएको छ, दिनरात आफूहरूको थोरै जनशक्तिले खटेर तीव्र रूपमा काम गरिरहेका छौँ ।’ ती क्षेत्रका स्थानीयवासी मोबाइल चार्ज गर्न अन्यत्र गाउँ गइरहेका छन् ।

करेन्ट लागेर मृत्यु

त्रियुगा नगरपालिका–८ देउरीमा एक पुरुषको मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लाग्दा मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका देउरीका ६५ वर्षीय मन्तु चौधरीको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक मोहन थापाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस