आगलागीमा परी महिलाको मृत्यु, हत्या आशंकामा श्रीमान् पक्राउ « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

आगलागीमा परी महिलाको मृत्यु, हत्या आशंकामा श्रीमान् पक्राउ


१८ असार २०७९, शनिबार


काठमाडौँ । मोरङको रंगेली नगरपालिकाको बिर्ता बजारस्थित एक घरमा भएको आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । गएराति भएको आगलागीमा परी ३३ वर्षीया बबिता मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

गम्भीर घाइते बबिताको उपचारका क्रममा आज बिहान ६ बजेतिर विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको हो ।

तर, प्रहरीले घटनालाई शङ्कास्पद मानेर अनुसन्धान थालेको छ । बबितालाई उनकै श्रीमानले घरमा थुनेर आगो लगाएको हुनसक्ने प्रहरीको आशङ्का छ । सोधपुछका लागि प्रहरीले बबिताका श्रीमान् तिल्का मल्लिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठले हाल घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए ।

पक्राउ परेका तिल्काले खाना खाने समय राति ९:४५ बजेतिर पत्नीसँग विवाद भएको बताएका छन् । सोही क्रममा एक्कासि घरमा आगो लागेको देखिएकाले प्रहरीले अनुसन्धान थालेको हो । आगो निभाउनुको साटो तिल्का केही पर भागेकाले पनि घटना शङ्कास्पद देखिएको डीएसपी श्रेष्ठले बताए ।

आफ्ना दाजु जगदीशको मृत्यु भएपछि तिल्काले नातामा भाउजू पर्ने बबितासँग पाँच वर्षअघि विवाह गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस