प्रधानमन्त्री रोजगार कार्यक्रमले फेरियो स्वरूप : पहिले वन, अहिले पार्क « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री रोजगार कार्यक्रमले फेरियो स्वरूप : पहिले वन, अहिले पार्क


१६ असार २०७९, बिहिबार


जताततै उम्रिएका झार । दिशा पिसाबको दुर्गन्ध । २०७८ वैशाख अघिसम्म मोरङको कटहरी गाउँपालिका–६ को क्षेत्रमा पर्ने बालुघाट वनको अवस्था यस्तै थियो ।

स्थानीय तथा सरोकारवालाको लापरबाहीले कुरूप बनेको थियो उक्त वन । स्थानीयले जथाभाबी दिशा पिसाब गर्दा वनमा नाक थुनेर जानुपर्ने अवस्था थियो ।

तर, गत आर्थिक वर्षको वैशाखमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ‘बालुघाट पर्यटकीय स्थल निर्माण’ योजना लागू भएपछि त्यहाँको स्वरूप बदलिएको छ । उक्त योजना सम्पन्न भएपछि बालुघाट पार्कका रूपमा विकास भएको छ ।

अहिले वनको झार सफा गरिएको छ । चारैतिर पर्खाल लगाइएको छ । वरिपरि फूल रोपिएका छन् । रुखहरू रङ्गाइएका छन् । पिकनिक खान आउनेहरूका लागि टहराहरू बनाइएका छन् । खानेपानीको व्यवस्था तथा शौचालय निर्माण गरिएको छ । हटिया लाग्ने क्षेत्र व्यवस्थित बनाइएको छ ।

बालुघाटको स्वरूप बदलिएपछि चकित छन्, कटहरी नगरपालिका–६, थलाका प्रेम राजवंशी (२७) । ‘अहिले बालुघाटको स्वरूप निकै बदलिएको छ । झन्डै १४ महिना अघिसम्म जानै मन नलाग्ने त्यो वन अहिले जाउँ जाउँ लाग्ने भएको छ,’ उनी भन्छन् ।

बालुघाट पर्यटकीय स्थलका रूपमा विकास भएपछि उनी मात्रै होइन, स्थानीय पनि दङ्ग छन् । ‘पहिलो कुरा त यस योजनामार्फत यहाँका बेरोजगारले रोजगारी पाए । अर्को, कुरूप वन सुन्दर बन्यो,’ उनी स्थानीय खुसी हुनुको कारण खुलाउँछन्, ‘साथै यसले पर्यटन विकासको ढोका पनि खुलाएको छ ।’

उक्त योजनाको हिस्सा थिए उनी पनि । उनले श्रमिकका रूपमा काम गरेका थिए । गाउँमा रोजगारी पाउँदा कस्तो अनुभव भयो ? ‘गाउँमा रोजगारी पाएपछि को खुसी नहोला र ?’ उनले खुसी प्रकट गरे । त्यस अघि उनी आफ्नै अटो गाडी चलाउँथे । ‘घरमा एउटा अटो थियो । कहिले भाइ चलाउँथ्यो । कहिले म चलाउँथेँ,’ उनले सुनाए, ‘त्यसबाट भएको कमाइले घर खर्च चलाउँथ्यौँ ।’

आफूले बालुघाट क्षेत्रमा काम गर्न थालेपछि भने भाइले अटो चलाएको उनले बताए । ‘भाइ अटो चलाउन थाल्यो । म बालुघाटमा काम गर्न थालेँ,’ उनले सुनाए, ‘दुवैको कमाइ भएपछि घर खर्च चलाउन सहज भयो ।’

सोही वडामा बस्ने जानकी मुडियारी (३५) पनि प्रधानमन्त्री रोजगार कार्यक्रमले आफ्नो परिवारलाई घर खर्च चलाउन सहज भएको बताउँछिन् । ‘परिवारको आर्थिक स्रोत नहुँदा घर खर्च चलाउनै मुस्किल थियो । त्यो (प्रधानमन्त्री रोजगार) कार्यक्रममा काम गरेपछि केही सहज भएको छ,’ उनी भन्छिन् ।

त्यसअघि उनले कति पटक आर्थिक अभावको समस्या झेलिन् । जेनतेन व्यवहार मिलाइन् । ‘कमाइ नहुँदा कहिलेकाहीँ त निकै अप्ठेरो पर्छ,’ उनी भन्छिन्, ‘मागौँ कसलाई माग्ने । नमागौँ कसरी समस्या टार्ने ?’

उनको परिवारमा श्रीमान् र ३ छोराछोरीसहित ५ जना छन् । तर, परिवारको आय आर्जनको माध्यम केही छैन । श्रीमान् पनि बेरोजगार रहेको उनी बताउँछिन् ।

त्यही भएर उनले बेरोजगारको फर्म भरिन् । र, बेरोजगार व्यक्तिका रूपमा सूचीकृत भएर प्रधानमन्त्री रोजगार योजनामा श्रमिकका रूपमा छानिइन् पनि ।

उक्त योजनामा श्रमिकमा छानिँदा आफू निकै खुसी भएको उनी सुनाइन् । ‘त्यति बेला गाउँमै काम पाइने भयो भनेर निकै खुसी थिएँ,’उनले सम्झिइन् । योजनाको काम सुरु भएपछि नियमित काममा गइन् उनी ।

गत आर्थिक वर्षमा सञ्चालित उक्त योजनामा १२ हजार रुपैयाँ ज्याला पाएको जानकी बताउँछिन् । ‘उक्त रकमले घर व्यवहार चलाउन सहज भयो,’उनी भन्छिन् ।

उक्त योजनाले राजवंशी र मुडियारीलगायत गाउँका बेरोजगारको घर खर्च चलाउन सहज मात्रै बनाएको छैन, गाउँको आर्थिक विकासमा टेवासमेत पुर्‍याएको छ ।

स्थानीय प्रेम राजवंशी बालुघाट पर्यटकीय स्थलका रूपमा विकास भएपछि आन्तरिक पर्यटक आउन थालेको बताउँछन् । ‘यहाँ विद्यार्थीहरू पिकनिक खान आउन थालेका छन् । यसले यहाँको आर्थिक विकासमा टेवासमेत पुर्‍याएको छ,’ उनी भन्छन् ।

बालुघाट क्षेत्रमा हरेक बिहीबार हटिया (हाट बजार)समेत लाग्ने गरेको छ । हटियामा स्थानीय खानेकुरा (घोंगी, सितु, बङ्गुरको मासु, स्थानीय जातका माछा, तरकारी र सागसब्जी पाइने गरेको छ ।

रोजगार संयोजक राजवंशी पनि बालुघाट वनमा पर्यटकीय स्थल योजना सम्पन्न भएपछि आसपासको क्षेत्रको विकासमा टेवा पुगेको बताउँछन् । ‘पिकनिक खान आउन थालेपछि र हटिया व्यवस्थित भएपछि यो ठाउँको विकासमा टेवा पुगेको छ,’ उनी भन्छन् । साथै उनी अबको केही वर्षमा यो स्थलले ख्याति पाउनेमा आशावादी छन् ।

बालुघाट पर्यटकीय स्थलको काम गुरु योजना बनाएर थालिएको गाउँपालिकाले जनाएको छ । बालुघाट वन क्षेत्र कटहरीसँगै धनपालथान गाउँपालिकामा फैलिएको छ । तर, प्रधानमन्त्री रोजगार कार्यक्रम कटहरीमा मात्रै लागू छ । उक्त वनको करिब १२ बिघा क्षेत्रफल कटहरी गाउँपालिकामा पर्छ ।

सात लाख खर्च
उक्त योजनामा चालु आर्थिक वर्षमा ७ लाख १ हजार ६ सय ९ सय रुपैयाँ खर्च गरिएको छ । जसमा स्थानीय सरकारको ४ लाख ५६ हजार ३ सय ८४ र प्रधानमन्त्री रोजगार कार्यक्रमको २ लाख ४५हजार २ सय २५ रुपैयाँ खर्च गरिएको छ ।

रोजगार संयोजक रामकुमार राजवंशीकाअनुसार उक्त योजनामा २० जना (१ पुरुष र १९ महिला) बेरोजगारले २२ दिन काम गरेका थिए । उनीहरूको ज्याला रकम बैङ्क खातामार्फत भुक्तानी गरिएको उनले बताए ।

कार्यक्रमबारे के भन्छन् जनप्रतिनिधि र कर्मचारी ?
गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष मञ्जिता कुमारी सरदार प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी नै रहेको बताउँछिन् । ‘बेरोजगारलाई काम दिनु यो कार्यक्रमको राम्रो पक्ष हो,’ उनी भन्छिन् ।

उनको कुरामा सहमत छन्, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्य । सूचीकृत बेरोजगारले रोजगारी पाउनु र साना तिना योजनाका निर्माण गर्नु यो कार्यक्रमको सबल पक्ष रहेको उनको भनाइ छ । ‘यो कार्यक्रमले स्रोतमा दोहोरोपनको समस्या हटाएको छ,’ उनी भन्छन् ।

यससँगै यस कार्यक्रमका केही चुनौती पनि छन् । त्यो मध्ये एक हो– सूचीकृत बेरोजगारलाई काम नपाउनु ।

प्रमुख प्रशासकीय अधिकृत आचार्य पनि सूचीकृत बेरोजगारको सानो हिस्सालाई मात्रै रोजगार दिन सकिएको बताउँछन् । ‘सूचीकृत बेरोजगार ४००/५०० जना छन् । त्यसको सानो हिस्सालाई मात्रै रोजगारी दिन सकिएको छ,’ उनी भन्छन्, ‘बजेट स्थिर हुँदा कतिपय अवस्थामा वास्तविक बेरोजगारलाई काम दिन सकेका छैनौँ ।’

प्रधानमन्त्री रोजगार कार्यक्रम कसरी प्रभावकारी बनाउने ?
मुडियारी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारलाई वर्षभरि रोजगारी दिनुपर्ने माग गर्छिन् । ‘वर्षभरि रोजगारी पाए घर खर्च चलाउन निकै सहज हुन्थ्यो,’ उनी भन्छिन् ।

प्रमुख प्रशासकीय अधिकृत आचार्य योजनाका लागि सामग्री खरिद र श्रमिकको सीप विकासका लागि रकम छुट्याउन सके प्रधानमन्त्री रोजगार कार्यक्रम अझ बढी प्रभावकारी हुने सुझाव दिन्छन् । अहिले उक्त कार्यक्रम अन्तर्गतको बजेटको सबै रकम श्रमिकको ज्यालामा खर्च हुने गरेको छ ।

सामग्री खरिदमा केही रकम छुट्याउन सके योजना पनि दिगो हुने उनको विश्वास छ । ‘केही पालिकाले उक्त कार्यक्रमका योजनामा सामग्री किन्न सहयोग गरिरहेका छन्,’ उनी भन्छन् ।

गाउँपालिकाकी उपाध्यक्ष सरदार रोजगारीको दिन बढाउन सके कार्यक्रम अझ प्रभावकारी हुने बताउँछिन् । ‘अहिले यस कार्यक्रम अन्तर्गत १०० दिनको रोजगारी दिने गरिएको छ । तर, कार्यान्वयन हुन सकेको छैन,’उनी भन्छिन्, ‘पहिले यसलाई पूर्ण रूपले कार्यान्वयन गर्नुपर्छ । त्यसपछि रोजगारी दिन अझै बढाउनुपर्छ । अनि मात्रै बेरोजगारलाई जीवनयापनमा सहज हुन्छ । र, यो कार्यक्रम प्रभावकारी पनि हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस