लुम्बिनी प्रदेशमा ३२ प्रतिशत रोपाइँ सम्पन्न « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनी प्रदेशमा ३२ प्रतिशत रोपाइँ सम्पन्न


१६ असार २०७९, बिहिबार


लुम्बिनी । किसानले धान रोप्ने समयमा प्रर्याप्त मल नपाउँदा र समयमा वर्षा नहुनाले मध्य असारसम्ममा पनि रोपाइँ गर्न पाएका छैनन् ।

मल र सिँचाइको अभावका कारण असार १५ सम्ममा लुम्बिनी प्रदेशमा ५० प्रतिशत पनि रोपाइँ हुनसकेको छैन । लुम्बिनी प्रदेशमा अहिलेसम्ममा करिब ३२ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।

गतवर्ष यस अवधिमा प्रदेशभरिमा झण्डै ४६ प्रतिशत धान रोपाइँ भएको थियो । मन्त्रालयको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा तीन लाख २० हजार २७५.४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । धान रोपाइँ हुने जमिनको कूल क्षेत्रफलमध्ये यसवर्ष आजसम्म एक लाख चार हजार ७५०.८६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको मन्त्रालयका बाली विकास अधिकृत तथा सूचना अधिकारी शालिकराम गौतमले जानकारी दिए ।

प्रदेशका १२ जिल्लामध्ये रोपाइँ भएका जिल्लामा सबैभन्दा धेरै पश्चिम नवलपरासी जिल्लामा ८० प्रतिशत र सबै भन्दाकम बाँकेमा १३ प्रतिशत मात्र धान रोपाइँ भएको छ । पश्चिम नवलपरासीमा २१ हजार १७५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गर्छ । यसमध्ये हालसम्म १६ हजार ९४० हेक्टरमा धान रोपाइँ सकिएको मन्त्रालयको तथ्याङ्क छ । यस्तै बाँकेमा ३६ हजार ५०० हेक्टर जमिनमा हुने गर्छ । यहाँ यस वर्ष हालसम्म चार हजार ७४५ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ ।

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी धानखेती हुने कपिलवस्तु हो । यस जिल्लामा कूल ७१ हजार २०० हेक्टर जमिनमा धान खेती हुने गर्छ । यस जिल्लामा अहिले सम्ममा जम्मा १२ हजार १०४ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको मन्त्रालयका सूचना अधिकारी गौतमले जानकारी दिए । प्रदेशको दोस्रो धेरै धानखेती हुने जिल्ला रुपन्देहीमा भने हालसम्म ४१ प्रतिशत रोपाइँ सकिएको छ ।

यता लुम्बिनी प्रदेशमा सबैभन्दा कम धान रोपाइँ हुने रुकुम पूर्वमा ६५ प्रतिशत रोपाइँ सम्पन्न हुँदा रोल्पामा ६०.२० प्रतिशत रोपाइँ सकिएको छ । रुकुम पूर्वमा धान रोपाइँ हुने एक हजार ४१९.४२ हेक्टरमध्ये ९२२.६२ हेक्टर क्षेत्रफमा रोपाइँ सकिँदा रोल्पामा चार हजार ३४० हेक्टरमध्ये दुई हजार ६१२.६८ हेक्टर क्षेत्रफलमा रोपाइ सकिएको छ ।

यस्तै तराई जिल्लाका धान उत्पादन हुने मुख्य दाङ र बर्दिया जिल्लामध्ये दाङमा कूल धान रोपाइ हुने ३९ हजार ४०० हेक्टर क्षेत्रफलमध्ये १२ हजार ४११ हेक्टर अर्थात् ३१.५० प्रतिशत क्षेत्रफलमा र बर्दियामा ५० हजार २५० हेक्टर क्षेत्रफलमध्ये १७ हजार ४७६.६८ हेक्टर अर्थात् ३४.७८ प्रतिशतमा धान रोपाइ सकिएको छ ।

यता प्रदेशका पहाडी जिल्ला अर्घाखाँचीमा धानखेती हुने कूल ८ हजार ५० हेक्टरमध्ये एक हजार ९३२ हेक्टर क्षेत्रफल अर्थात् २५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको गौतमले जानकारी दिए ।

यस्तै गुल्मीमा कूल धान खेती हुने आठ हजार ८३६ हेक्टरमध्ये दुई हजार ३८५.७२ हेक्टर अर्थात् २७ प्रतिशतमा रोपाइँ सकिएको छ भने पाल्पामा सात हजार ७०६ हेक्टरमध्ये दुई हजार ६९७.१० हेक्टर क्षेत्रफल अर्थात् ३५ प्रतिशत रोपाइँ सकिएको छ । यता प्यूठान ६० प्रतिशत रोपाइँ सकिएको छ । जिल्लाको कूल धान रोपाइँ हुने ६ हजार ५८० हेक्टरमध्ये तीन हजार ९४८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा रोपाइँका लागि प्रायः आकासे पानीको भर पर्नुपर्ने भएकाले यसवर्ष पानी पर्न केही ढिला हुँदा रोपाइँमा पनि ढिलाइ भएको मन्त्रालयका सूचना अधिकारी गौतमले जानकारी दिए । यस प्रदेशमा करिब ५० प्रतिशत जमिनमा आकासे पानीको भरपर्नुपर्ने अवस्था रहेको उनले बताए । उनले दुई दिनदेखि लगातार पानी परेकाले असार भरिमा प्रदेशमा ८० देखि ९० प्रतिशत रोपाइँ सकिने बताए ।

रोपाइँका समयमा सरकारले डिएपी र युरिया मलको व्यवस्थापन नगर्दा यसवर्ष धेरै किसानले मलबिनै रोपाइँ गर्नुपरेको किसानको गुनासो छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार साल्टटे«डिङ लिमिटेडले प्रदेशभरिका लागि अहिले डिएपी वितरण गरेको तर त्यो किसानका लागि प्रर्याप्त नभएको बताउँछन् । यस्तै युरिया भने धानमा छर्ने बेलासम्म आउने आश्वासन मिलेको बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस