बागमतीका मुख्यमन्त्री पाण्डेविरुद्ध काँग्रेस र माओवादीले थाले हस्ताक्षर सङ्कलन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बागमतीका मुख्यमन्त्री पाण्डेविरुद्ध काँग्रेस र माओवादीले थाले हस्ताक्षर सङ्कलन


१६ असार २०७९, बिहिबार


काठमाडौँ । प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली काँग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर सङ्कलन सुरु गरिएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रको निर्देशन बिना सहजै मुख्यमन्त्रीको पद नछोड्ने बताएपछि काँग्रेस र माओवादीले आफ्ना सांसदहरुको हस्ताक्षर सङ्कलन गर्न सुरु गरेको हो ।

सत्तारुढ गठबन्धनको पूर्वसहमति चुनावी सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्ने भन्ने थियो । सोही समझदारीमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बनेका थिए ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट पास भएपछि पूर्वसहमतिअनुसार नै नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ सत्तारोहणको तयारीमा छन् ।

पाण्डे गत कात्तिक ११ गते ६ महिनापछि नेतृत्व छाड्ने गरी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा (एस) को समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई माओवादी २३, नेपाली काँग्रेस २२, नेकपा (एस) १३ र जसपाको एकसहित ५९ सांसदको समर्थन रहेको थियो ।

काँग्रेसले सहमति अनुसार सहजै आफूले सत्ता प्राप्त गर्नुपर्ने माग गरेपनि मुख्यमन्त्री पाण्डे भने केन्द्रीय नेतृत्वको निर्देशनपछि मात्र पछाडि हट्ने भनेर पन्छिएपछि हस्ताक्षर सङ्कलन गरिएको एक सांसदले जानकारी दिए ।

‘सहमति अनुसार मुख्यमन्त्रीले सहजै सत्ता नछाड्ने देखियो । त्यस कारण यस्तो गर्नु परेको हो,’ उनले भने । उनले हाल माओवादी र काँग्रेसबाट मन्त्रिपरिषद्‌मा सहभागी मन्त्री तथा राज्यमन्त्री समेत फिर्ता बोलाउने तयारी भइरहेको उनले बताए ।

‘आज बजेट पास भएपछि सबै प्रक्रिया अगाडि बढ्छ’, उनले भने । स्रोतका अनुसार माओवादी सांसदको हस्ताक्षर सांसद युवराज दुलालले सङ्कलन गरेका थिए ।

मुख्यमन्त्री पाण्डेले काँग्रेस नेता बानियाँसँग आधा–आधा समय मुख्यमन्त्री बन्ने सहमति पत्र नै गरेका थिए । तत्कालीन समयमा नेपाली काँग्रेस केन्द्रीय प्रवक्ता प्रकाशरण महतको उपस्थितिमा काँग्रेस र नेकपा एसबीच सहमति भएको थियो ।

केन्द्र सरकारले निर्वाचन आयोगको सुझाव अनुसार असारको अन्तिम सातासम्ममा प्रदेश र सङ्घको निर्वाचनको मिति तोक्ने सम्भावना रहेका कारण त्यसअघि नै यस विषयको टुङ्गो लाग्ने उनको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस