काकाकुल किलचोकमा पानी छ्यालब्याल, हर्षपुरमा बाटोसँगै भित्रियो हर्ष « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

काकाकुल किलचोकमा पानी छ्यालब्याल, हर्षपुरमा बाटोसँगै भित्रियो हर्ष


१४ असार २०७९, मंगलबार


तनहुँको म्याग्दे गाउँपालिका–३, किलचोकका तेजबहादुर ठकुरीलाई पछिल्लो डेढ वर्षयता एक गाग्री पानी लिन एक किलोमिटर परसम्म पुग्नुपर्ने बाध्यता थियो । ठकुरी मात्र होइन, यो बाध्यता म्याग्दे–३ का करिब ३०० परिवारलाई नै थियो । यसै त मजदुरीको काम नखोजेसम्म वर्षभरि गुजारा नचल्ने किलचोकबासीको धेरै समय खानेपानी ओसार्नमै खर्चनु परेपछि गुजाराको चक्र नै खलबलियो ।

तीन सय परिवार बसोबास गर्ने किलचोकमा खानेपानीको एउटै मुहान थियो । त्यही मुहानबाट गाउँमा पानी आपूर्ति गरिन्थ्यो । तर, डेढ वर्ष पहिले पहिरोले मुहान क्षतविक्षत तुल्यायो । मुहानसम्म पुग्ने बाटो र पानी ट्याङ्की पनि पहिरोले क्षतविक्षत बनायो । त्यसपछि किलचोकबासीलाई खानेपानीका लागि निकै टाढाको मुहानसम्म धाउनुपर्ने बाध्यता आइलाग्यो । 

अहिले त्यो बाध्यता हटेको छ । किलचोकमा फेरि पानी फर्किएको छ । ‘अहिले टोल टोलमा, घरघरमा धारा पु¥याइएको छ’, ठकुरीले भने, ‘डेढ वर्षअघि पहिरोले पुरेको खानेपानीको मुहान मर्मत भएपछि किलचोकमा शुरु भएको खानेपानीको समस्या हटेको छ ।’

झन्डै डेढ वर्ष काकाकुल रहेको किलचोकको प्यास मेटाउने यो उपाय प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत जुरेको हो । कार्यक्रम अन्तर्गत यही आर्थिक वर्ष २०७८/७९ मा बतासे खानेपानी पँधेरो मर्मत तथा व्यवस्थापनको काम सम्पन्न भएपछि किलचोकले भोगिरहेको खानेपानी सङ्कट हल भएको हो । यो योजनामा नेपाल सरकार लगायत दातृ निकाय विश्व बैङ्कको युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजना (आइडीए)को पनि ऋण लगानी थियो । ‘पानीको मुहान मर्मत भएपछि टाढासम्म पानी लिन जाने समय बच्यो, यसबाट जीविकोपार्जनमा पनि सहयोग पुगेको छ’, ठकुरीले भने । 

योजना सम्पन्न गर्न उपभोक्ता समितिमार्फत कुल १२ जना सूचीकृत बेरोजगारले औसतमा ५५ दिन काम सञ्चालन गरेका थिए ।  ज्याला रकम प्रतिदिन ५७७ रुपैयाँ कामदारको बैङ्क खातामै भुक्तानी दिने कार्य भइरहेको छ । किलचोककी लक्ष्मी सुनारको अध्यक्षतामा गठित रोजगार उपभोक्ता समितिले योजना अन्तर्गत बतासेमा पानीको मुहान मर्मत तथा सरसफाइ, भटरचोक र कुलेचौरमा बाटो मर्मत गर्‍यो । खेतीपातीबाट गुजारा गर्ने सुनार स्वयंको कृषि आम्दानीले चार पाँच महिना खान पुग्थ्यो । बाँकी समय कामको खोजीमै भौँतारिनुपर्थ्यो । यसपालि त्यस्तो भएन । यो योजनामा उनले पनि काम गर्ने मौका पाइन् । सुनार भन्छिन्, ‘अब गाउँमै पिउने पानी पायौँ, श्रम गरेर प्राप्त ज्यालाले घर खर्च चलाउन पनि सजिलो भएको छ ।’

हर्षपुरमा बाटोले ल्याएको हर्ष

यो तस्बिरमा देखिने ढुङ्गा छापिएको बाटो म्याग्दे गाउँपालिका-७ मा पर्छ । यो त्यही बाटो हो जहाँबाट हर्षपुर गाउँमा रहेको होमस्टेमा पुगिन्छ । हर्षपुरका ४६ घरपरिवारले आफ्नै गतिलो आयआर्जनको जोहो गर्न संयुक्त प्रयासमा होमस्टे सञ्चालन गरेका छन् । तर, कच्ची बाटोले उनीहरूको लक्ष्यमा अवरोध खडा गरिदिएको थियो । सुबिस्तायुक्त बाटो नहुँदा पर्यटकहरू यहाँ आउन हच्किन्थे । त्यसमाथि उकालो र ओरालो बाटो हिलाम्मे हुँदा हिँड्न समेत मुस्किल हुन्थ्यो ।

त्यही बाटोमा ढुङ्गा छापेर सिँढी बनाइएपछि होमस्टे पुग्न धेरै सहज भएको छ । बाटो मर्मत र स्तरोन्नतिको यो काम प्रधानमन्त्री रोजगार कार्यक्रमको सहयोगबाट भएको हो । 

हर्षपुर होमस्टेमा पाहुनाका लागि १८ घरमा बास बस्ने व्यवस्था छ । पर्यटक आवतजावत गर्ने पैदल मार्ग मर्मत तथा स्तरोन्नतिका लागि सञ्चालित योजनामा यहाँका सूचिकृत ७ जना बेरोजगारले सरदर ५२ दिनका दरले जम्मा ३६४ दिन काम गरेका थिए । ज्याला रकम प्रतिदिन रु.५१७ का दरले सम्बन्धित कामदारको बैङ्क खाता मार्फत भुक्तानी गरिएको थियो । होमस्टे सञ्चालक दमन्ता राना भन्छिन्, ‘अरू कुनै आम्दानी गर्न नसक्ने म जस्ता एकल तथा विपन्न महिलाले सय दिन जति रोजगारी पायौँ, अब होमस्टेले पनि स्वरोजगार गराउला भन्ने आशा छ ।’ 

म्याग्दे गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेका अनुसार गाउँपालिकाले पर्यटन पर्वद्धनका लागि होमस्टे जाने बाटो मर्मतलाई प्राथमिकतामा राखेर यो योजना अघि बढाएको हो । उनले धार्मिक पर्यटन पर्वद्धनका लागि मन्दिर जाने बाटोसमेत मर्मत गरिएको बताए । गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा वार्षिक बजेट तथा कार्यक्रममै पर्यटन क्षेत्र विकास गर्न हर्षपुर होमस्टेमा पैदल मार्ग मर्मत तथा स्तरोन्नति गर्ने योजना तय गरेको थियो जसबाट ७० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

पैदल मार्ग मर्मतबाट होमस्टेको सौन्दर्य बढ्नुका साथै यहाँ आउने पाहुनालाई हिँडडुल सहज भएको छ । यही बाटोले विद्यार्थीलाई विद्यालय आवतजावत गर्नसमेत सजिलो बनाएको छ । होमस्टेमा पाहुनाको आगमन बढ्दै गएपछि कृषकले उत्पादन गरेको तरकारी र दूध पनि गाउँमै खपत हुन थालेको हर्षपुर होमस्टे सचालक समिति अध्यक्ष विसरा थापा बताउँछिन् । 

प्राथमिकतामा विपन्न, स्थानीय सरकारको हातेमालो

रोजगार कार्यक्रम लागु भएपछि म्याग्दे गाउँपालिकामा २०७५/७६ देखि अहिलेसम्म ९५५ जना बेरोजगार सूचिमा दर्ता भएका छन् । तीमध्ये अहिलेसम्म ३१० जनाले रोजगारी पाएका छन् । गाउँमै रोजगारीको अवसर पाउनेमा महिलाको सङ्ख्या उल्लेख्य छ । रोजगार उपभोक्ता समिति वडा नम्बर ३ की अध्यक्ष सुनारका अनुसार कुनै कुनै टोलीमा त ९५ प्रतिशतसम्म महिलाले रोजगार पाएका छन् । 

गाउँपालिका वर्तमान अध्यक्ष श्रीप्रसाद श्रेष्ठ विपन्न र बेरोजगारलाई प्राथमिकतामा राखेर रोजगारीका अवसर प्रदान गरिएको बताउँछन् । श्रम बेचेर बाँच्नेहरूलाई नै प्राथमिकतामा राखेर रोजगारीका अवसर दिन गाउँपालिकाले योजना बनाएरै काम गरिरहेको उनको भनाई छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बेलाबेला अनुगमन गर्दा कार्यक्रमको प्रभावकारिता राम्रो देखिएको र वडाबाट छनोट भएका योजनाहरूलाई नै प्राथमिकता दिएर काम भइरहेको बताए ।

किलचोकमा खानेपानीको सुविधा फर्काउने र हर्षपुरमा बाटो बनाउनेबाहेक गाउँपालिकाको दुर्गममध्ये मानिने वडा नम्बर ६ मा समेत बाटोको नाली बनाउने काम सम्पन्न भएको छ । त्यस्तै, वडा नम्बर ४ मा रहेको पाँडे थोक धारा पानी खानेपानी मर्मत तथा व्यवस्थापन आयोजनाको पनि रूपान्तरण कार्य सञ्चालन भइरहेको छ । गाउँपालिका स्तरीय रोजगार संयोजक पविन्द्र शाहीका अनुसार म्याग्देका सबैजसो वडामा बाटो मर्मत, पानीका मुहान सरसफाइ लगायतका काम भएका छन् । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमसँग स्थानीय तहले पनि सहकार्य गर्दा नतिजा थप प्रभावकारी बनेको बताए । 

गाउँपालिकाले खानेपानी आयोजना, बाटो निर्माण तथा मर्मत, विद्यालय संरक्षण लगायतमा सघाएको छ । स–साना बाटाहरूलाई साढे ३ फिटसम्म चौडा बनाउने, आवश्यक ढुङ्गा खरिद र ढुवानी गर्ने लगायतका काममा पनि गाउँपालिकाले हातेमालो गरेको छ ।

जोखिममा रहेको स्वास्थ्य प्रावि बर भन्ज्याङमा पर्खाल लगाउने काम स्थानीय तहकै सहयोगमा भएको वडा नम्बर ७ का वडा सदस्य धुर्ब नेपालीले बताए । पर्खालका लागि आवश्यक सामाग्री वडा कार्यालयले उपलब्ध गराएको र रोजगार कार्यक्रममार्फत श्रमिकको व्यवस्था गरिएको उनले बताए ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले पनि योजनाहरू प्रभावकारी बनुन् भनेर औजार तथा उपकरण उपलब्ध गराउने गरिएको बताए । रोजगार कार्यक्रमसँगको सहकार्यमा गाउँपालिकाले बायो इन्जिनियरिङ लगायतका योजना सञ्चालन गर्न थप ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

चुनौती दिगोपनको

रोजगार कार्यक्रमले गाउँमा परिवर्तनसँगै केहीलाई प्रत्यक्ष रोजगारी दिएर गुजारा पनि सहज बनाइदिएको छ । तर, हरेक वर्ष बढिरहेको बेरोजगारको सङ्ख्या धेरै भएकाले सबैलाई रोजगारी उपलब्ध गराउन सक्ने अवस्था पनि छैन । म्याग्दे गाउँपालिका स्तरीय रोजगार संयोजक शाही पनि सूचिकृत भएका सबै बेरोजगारको अपेक्षा रोजगारी पाए हुन्थ्यो भन्ने रहेको बताउँछन् । 

‘घरैपिच्छे सबैले रोजगारी पाए हुन्थ्यो भन्ने चाहना छ । तर, हामीले भने साहुले २ हजार पनि नपत्याउनेलाई प्राथमिकतामा राखेर रोजगारी दिएका छौँ,’ वडा नम्बर ७ का वडा सदस्य नेपाली भन्छन् । 

सबैलाई रोजगारी उपलब्ध गराउनु आफैमा चुनौती छँदै छ, सँगै रोजगार कार्यक्रमअन्तर्गत सम्पन्न भएका योजनाहरूलाई दिगोपन दिने चुनौती पनि छ । ‘सम्पन्न भइसकेका आयोजना जोगाइराख्न काम लगाउन खोज्यो भने निर्माण सामग्री र औजारको अभाव आइलाग्छ’, गाउँपालिका उपाध्यक्ष घिमिरेले भने, ‘काम गर्न पर्ने गैँती, कोदालो, बेल्चा लगायतका औजार आवश्यक पर्छन् । बाटो बनाउनकै लागि पनि ढुङ्गा, सिमेन्ट, जाली आवश्यक पर्छ, यी सामग्री खरिद गर्नु पर्छ । तर, त्यो व्यवस्था नहुँदा समस्या देखिन्छ ।’

रोजगार कार्यक्रमका योजनाहरू कहिलेकाहीँ प्रभावहीन जस्तै देखिने समस्या पनि छ । जस्तो कि, वडा नम्बर ३ का तेजबहादुर ठकुरीले भने, ‘यो वर्ष मर्मत गरेका बाटो फेरि अर्को वर्ष मर्मत गर्नुपर्ने, हिउँदमा मर्मत गरेका बाटाहरू बर्खामा बिग्रिने गरेकोले पनि काम नगरे जस्तो देखिन्छ । भएका कामलाई दिगो राख्न चुनौती छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस