डुम्रे-बेँसीशहर सडक अवरुद्ध « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डुम्रे-बेँसीशहर सडक अवरुद्ध


१४ असार २०७९, मंगलबार


काठमाडौँ । गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिराले डुम्रे-बेँसीसहर सडक र बेँसीशहर-चामे सडक अवरुद्ध भएको छ । 

डुम्रे-बेँसीशहर सडक खण्डअन्तर्गत बेँसीशहर नगरपालिका-१ उदिपुर नजिकै पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । 

उनका अनुसार गत वर्ष र केही दिनअघि गएको पहिराले अवरुद्ध बनाएको सडकका कारण वैकल्पिक रूपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा सोही पहिराले ढुङ्गा माटासहित अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन ठप्प छ । सडक अवरुद्ध भएपछि बेँसीशहरबाट काठमाडौँ, पोखरा, चितवनलगायत ठाउँमा जान र सो स्थानबाट बेँसीशहर आउने सवारी साधन चल्न सकेका छैनन् ।

त्यस्तै, लमजुङ र मनाङ जोड्ने बेँसीसहर-चामे सडकखण्ड स्थित बेँसीशहर नगरपालिका-६ खरखरे भिरमा समेत बाढी पहिराले सडक अवरुद्ध भएको छ । करिब ३० मिटर सडक नै अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन हुन नसकेको प्रहरीको भनाइ छ । यस स्थानमा बर्सेनि पटक-पटक पहिराका कारण थप जोखिम बढ्दै गएको छ । यी दुवै स्थानमा पहिरो खुलाउने तयारी भएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस