उपत्यकाको प्रदूषित खानेपानीले हैजा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

उपत्यकाको प्रदूषित खानेपानीले हैजा


१३ असार २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ उपत्यकाको खानेपानी प्रदूषित भएको कारणले हैजा देखिएको पाइएको छ ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजा रोगबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले खानेपानी प्रदूषित भएकाले हैजा देखिएको बताए ।

महाशाखाले हैजा देखिएको ठाउँ बागबजार, डिल्लीबजार र सानेपामा रहेका पानी परीक्षण गरेको थियो । उनले धारापानी, जार, टु्यूवेल, बोरिङको पानी परीक्षण गर्दा प्रदूषित पाइएको बताए ।

उनका अनुसार बागबजारको खानेपानी प्रदूषित रहेको छ । यस्तै सानेपामा परीक्षणका क्रममा ६२ प्रतिशत प्रदूषित भेटिएको उनले जानकारी दिए ।

‘पानी कसरी प्रदूषित भयो भनेर हामीले अध्ययन गरिरहेका छौँ’, उनले भने,’अध्ययनका लागि सबै ठाउँको पानीको नमुना सङ्कलन गरिरहेका छौँ ।’

यस्तै बूढानीलकण्ठ नगरपालिकाले गरेको पानीको परीक्षणमा ७२ प्रतिशत प्रदूषित र जारको पानी १५ प्रतिशत प्रदूषित भेटिएको छ । नगरपालिकाले जार, ढुङ्गेधारा, बोरिङको पानी परीक्षण गरेको थियो ।

यस्तै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पनि विभिन्न ठाउँको १० वटा खानेपानीको नमुना परीक्षण गरिरहेको छ ।

महाशाखाका निर्देशक डा दासले बल्खु र कोटेश्वरको पानीको सात वटा नमुना लिई परीक्षण भइरहेको जानकारी दिए । उनले महाशाखा र काठमाडौँ उपत्यका खानेपानी कम्पनी लिमिटेडसँग मिलेर खानेपानीको परीक्षण भइरहेको बताए ।

महाशाखाका निर्देशक डा. दासले हैजाको सम्भावित रोकथाम र नियन्त्रणका लागि अस्पतालहरुलाई तयारी अवस्थामा राखिएको बताए ।

१२ जनामा हैजा

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले अहिलेसम्म १२ जनामा हैजा पुष्टि भइसकेको जानकारी दिए । तीमध्ये ८ जनाको निको भएर घर फर्किसकेका छन् र चार जना उपचाररत रहेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वयोधा अस्पतालमा ती बिरामीको उपचार भइरहेको छ । सबैभन्दा पहिले असार ५ गते बागबजारका दुई जना युवतीमा हैजा पुष्टि भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस