राज्यमन्त्री विमला वलीलाई कारबाही गर्न एकराज बस्नेतको माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राज्यमन्त्री विमला वलीलाई कारबाही गर्न एकराज बस्नेतको माग


११ असार २०७९, शनिबार


काठमाडौँ । लुम्बिनी प्रदेशका विवादित स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले आफ्नो परिवारमा उडण्ड मच्चाएको बताउँदै उनका ‘प्रेमी’ भनिने एकराज बस्नेतले कारबाही माग गरेका छन् ।

जेठ ३१ गते आफू घरमा नभएको समयमा सुरक्षाकर्मीसहित पुगेर श्रीमती र छोरीलाई पिटेको, घरमा तोडफोड गरेको भन्दै वलीलाई कारबाही हुनुपर्ने माग गरेका हुन् ।

लुम्बिनी प्रदेश सरकारले गठन गरेको छानविन समितिसमक्ष उनले यस्तो बताएका हुन् । बस्नेतको श्रीमतीले वलीले घरमा पुगेर ‘मेरो पोइ खोइ ?’ भन्दै कुटपिट गरेको, तोडफोड गरेको, छोरीलाई कुटपिट गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन् ।

छानविन समिति समक्ष बस्नेतले वलीलाई केही रकम दिनुपर्ने भएको पनि बताएका छन् । वली र बस्नेतका बीचमा आर्थिक लेनदेनको कारोबार पनि रहेको खुलेको समितिका एक सदस्यले बताए ।

जेठ ३१ गते बिहान राज्यमन्त्री वली तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ आलुमण्डीस्थित एकराज बस्नेतको घरमा गई वलीले एकराजकी श्रीमती मिना र साढे ३ वर्षकी छोरीमाथि कुटपिट गरेकी थिइन् । घटना भएको दोस्रो दिन प्रदेश सरकारको असार १ गते बसेको मन्त्रिपरिषद् बैठकले राज्यमन्त्री वली घटनाबारे सत्यतथ्य छानबिन गर्न कार्यदल गठन गरेको थियो ।

त्यही छानबिन समितिलाई दिएको बयानमा वाइसियलका नेतासमेत रहेका बस्नेतले आर्थिक लेनदेनको कारोबार वलीसँग भएको स्वीकार गर्दै कारोबार आफूको भएकोले छोराछोरी र श्रीमतीसँग गरिएको दुर्व्यवहार र कुटपिटको सजाय उनले पाउनुपर्ने बताएका छन् ।

आफू घरमा नभएको अवस्थामा परिवार र बच्चामाथि गरेको व्यवहार अशोभनीय रहेको भन्दै राज्यमन्त्री वली त्यस बापत कारबाहीको भागिदार हुनुपर्ने उनले छानबिन समितिलाई भनेका छन् । ‘मेरो र उहाँकाबीचमा साढे ६ लाख जतिको लेनदेन भएको हो तर त्यो रकम पनि मैले राज्यमन्त्रीज्यूकै आग्रहमा उहाँकै काममा खर्चिएको हो ।’ उनले छानबिन समितिलाई भनेका छन् ।

उनले राज्यमन्त्री वलीसँग हिसाब मिलान गर्छु भन्दा भन्दै पनि घरमै गएर गरिएको व्यवहार आफूलाई पनि सैय नभएको बताएको स्रोतले बताएको छ । तर राज्यमन्त्री वलीले आफूले सापटी दिएको पैसा पटकपटक माग्दा पनि नदिएको हुँदा बाध्य भएर पैसा माग्न घरै जानुपरेको र आफूलाई त्यहाँ षड्यन्त्रपूर्वक फसाउन खोजिएको दाबी सीमित पत्रकारहरूसँग गर्दै आएकी छन् । उनी धेरै पत्रकारसँग सम्पर्कमा आउने र प्रतिक्रिया दिने गरेकी छैनन् ।

तुलसीपुर पुगेको राज्यमन्त्री वलीमाथि छानबिन गर्न गठित आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा नेतृत्वको आयोगको टोलीले सरोकारवालाहरूसँग बिहीबार छलफल गरेको थियो । कार्यदलमा महिला, बालबालिका तथा कानूनमन्त्री रमा घर्तीमगर र मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेका छन् ।

मन्त्री शर्माले सबै सरोकारवालासँग भेटेर कुराकानी गरिएको र अबको केही दिनमा प्रतिवेदन सार्वजनिक गर्ने समेत बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस