स्थानीय तह निर्वाचनमा हाम्रा उम्मेदवारमा आत्मविश्वासको कमी देखियो : सिके राउत « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्थानीय तह निर्वाचनमा हाम्रा उम्मेदवारमा आत्मविश्वासको कमी देखियो : सिके राउत


८ असार २०७९, बुधबार


जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारमा आत्मविश्वासको कमी देखिएको बताएका छन् । बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा राउतले आफूहरू पैसाका कारण चुनावमा पराजित नभएको बताए ।

उनले भने,‘पैसा नभएका कारण जितेनौँ भन्ने कुरा होइन । बिना पैसाले पनि मान्छेले जितेका छन् । जसलाई आत्मविश्वास छ ती व्यक्ति २१ बर्षकै उमेरमा मेयर भएर देखाइदिएका छन् । हाम्रा उम्मेदवारमा आत्मविश्वासको कमी देखियो ।’ उनले अघि भने, ‘जब आफैँ चुनाव जित्ने विश्वास छैन भने जनताले कसरी मत दिन्छ ?’

अध्यक्ष राउतले अन्य पार्टीले अरू दलले आफ्नो पार्टी र उम्मेदवारविरुद्ध भ्रम फैलाएको पनि आरोप लगाए । ‘तिमी कहाँ जित्छौँ, पैसा छैन । अर्को पटक उठ्नु नि !’ जस्ता कुरा बोलेर आफ्ना उम्मेदवारको आत्मविश्वास घटाउने काम गरेको उनले बताए ।

यद्यपि दुई वटा सिट जित्नु पनि पार्टीको लागि महत्त्वपूर्ण भएको राउतले बताए । भारतीय जनता पार्टीले सन् १९८४ मा २ वटा मात्रै सिट जितेको प्रसङ्ग उठाउँदै डा. राउतले अहिले त्यही पार्टीले २८२ सिट जितेको बताए । ‘हामी पनि २८२ सिटमा पुग्छौँ’ उनले भने, ‘त्यसका लागि सङ्घर्ष गर्नु जरुरी छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस