अवकाश प्राप्त नायव सुब्बा झाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अवकाश प्राप्त नायव सुब्बा झाविरुद्ध भ्रष्टाचार मुद्दा


८ असार २०७९, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाशप्राप्त नायव सुब्बा गणपति झाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

झाको वैधानिक आम्दानी र खर्च तथा लगानीका बारेमा छानबिनपछि आयोगले दुई करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ ५१ पैसाको स्रोत नखुलेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनी २०३९ मंसिर ९ गते गाविस सचिवका रुपमा सार्वजनिक सेवामा प्रवेश गरी त्यस यता विभिन्न पद तथा कार्यालयमा रही २०७८ साउन महिनाबाट अवकाश प्राप्त गरेको आयोगले जनाएको छ ।

आयोगका अनुसार आर्थिक वर्ष २०३९/४० देखि २०७७/७८ सम्मको उनको समग्र आय/व्यय तथा खर्च एवं लगानीलाई आधार बनाएर छानबिन गरिएको हो ।

समीक्षा अवधिमा उनले दुई करोड ४२ लाख ६७ हजार १०४ रुपैयाँ ५६ पैसा आयआर्जन गरेको र ४ करोड ८७ लाख ३८ हजार २१० रुपैयाँ ७ पैसा खर्च एवं लगानी गरेको देखिएको आयोगको भनाइ छ ।

उनको दुई करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ ५१ पैसा बराबरको खर्च तथा लगानीको वैधानिक स्रोत खुल्न नसकेको भन्दै आयोगले उनीविरुद्ध आरोप पत्र दायर गरेको हो ।

वैधानिक स्रोत खुल्न नसकेको रकमलाई बिगो मानेर आयोगले उक्त रकम बराबरको सम्पत्ति तथा नगद जफत गर्न पनि मागदाबी गरिएको छ ।

अवकाश प्राप्त नायव सुब्बा झाले आफूले गैर कानुनी रुपमा आर्जन गरेको सम्पत्ति पत्नी मिनादेवी झा, छोराहरु दिवाकर कुमार झा, शिवाकर कुमार झा र करुणाकर कुमार झाको नाममा समेत राखेको पाइएको भन्दै आयोगले उनीहरुको नाममा रहेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनीहरुलाई समेत प्रतिवादी कायम गरेर आरोप पत्र दायर गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस