सरकारले पैसा नदिएपछि नोबेल र बीएण्डसी मेडिकल कलेजद्वारा स्वास्थ्य बीमा कार्यक्रम रोक्ने घोषणा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरकारले पैसा नदिएपछि नोबेल र बीएण्डसी मेडिकल कलेजद्वारा स्वास्थ्य बीमा कार्यक्रम रोक्ने घोषणा


८ असार २०७९, बुधबार


काठमाडौँ । झापाको बीएण्डसी मेडिकल कलेज र मोरङको नोबेल मेडिकल कलेजले स्वास्थ्य बीमा कार्यक्रम रोक्ने घोषणा गरेका छन् ।

आज (बुधबार) काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यी दुई मेडिकल कलेजले स्वास्थ्य बीमा बोर्डले समयमा रकम भुक्तानी नगर्दा समस्या भएको भन्दै असार २० गतेबाट स्वास्थ्य बीमा कार्यक्रम रोक्ने बताएका हुन् ।

२०७८ मंसिरपछि बीमाबापतको रकम नपाएको ती मेडिकल कलेजले जानकारी गराए । बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँले स्वास्थ्य बीमाबापतको ४५ करोड रुपैयाँभन्दा बढी र नोबेलको ५४ करोडभन्दा बढी रुपैयाँ लिन रहेको जानकारी दिए । यसअघि १५/१५ दिनमा भुक्तानी गर्ने भनिएकोमा रकम नपाएपछि उपचार गर्न नसकिएको उनले बताए ।

सरकारले ७२ चैत २५ देखि कैलालीबाट सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लामा लागू भइसकेको छ । प्रतिपरिवार ५ जनासम्मको ३ हजार ५ सय रकम तिरेको आधारमा वार्षिक एक लाखसम्मको स्वास्थ्य सुविधा र थप प्रतिसदस्य ७ सयका दरले रकम थपिएमा प्रतिसदस्य २० हजार बराबरको सेवा थपिने प्रावधान छ ।

तर, बीमा गराएकाहरूको औषधि उपचारको रकम सरकारले भुक्तानी नगर्दा अस्पतालहरूको सेवा प्रभावित हुन थालेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस