आज फेरि क्यान र वायु सेवा सञ्चालकहरु वार्तामा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आज फेरि क्यान र वायु सेवा सञ्चालकहरु वार्तामा


८ असार २०७९, बुधबार


काठमाडौँ । असन्तुष्ट वायु सेवा सञ्चालक सङ्घ (आओन) र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बिच फेरि आज वार्ता हुँदै छ ।

सो बारे आओनका प्रवक्ता योगराज कँडेलले यसअघिको आन्दोलनका कार्यक्रम फिर्ता लिइएको र हवाई उडानसँगै क्यानसँगको वार्ता समेत जारी राख्ने सहमति भएको जानकारी दिए ।

उसो त असार ५ गते एक सूचना जारी गर्दै क्यानले असार ७ गतेदेखि नै उपत्यका बाहिरका गन्तव्यमा जाने हवाई जहाज तथा हेलिकप्टरले सोही स्थानमा पार्किङ गर्नुपर्ने र भोलिपल्ट सोही स्थानबाट पहिलो उडान भर्नुपर्ने निर्णय गरेको थियो । क्यानको यस निर्णय विरुद्ध क्रुद्ध हवाई सेवा कम्पनीहरूले लगत्तै मंगलबार पत्रकार सम्मेलन गर्दै असार ८ गतेदेखि नै पूर्ण रूपमा हवाई सेवा अवरुद्ध पार्ने चेतावनी दिएका थिए ।

पार्किङको सवालसँगै अन्य शुल्कहरूमा समेत भारी वृद्धि गरिएको भन्दै सो सबै निर्णय फिर्ता लिन वायु सेवा सञ्चालकहरूले क्यानलाई २४ घण्टे अल्टिमेटम दिएका थिए । तर, हवाई कम्पनीहरूको यस्तो चेतावनी सार्वजनिक भएको २ घण्टा पनि नबित्दै यता क्यानले पुनः पत्रकार सम्मेलन गर्दै निर्देशन नमान्ने र आन्दोलनमा जाने हवाई कम्पनीहरूको दर्ता नै खारेज गर्ने सम्मको चेतावनी दिएको थियो ।

यसले आन्दोलित हवाई कम्पनीहरू खुम्चिन पुगे । सहमतिको नाममा राति ११ बजे पुनः क्यान र वायु सेवा सङ्घबिच वार्ता भयो । सो वार्तामार्फत सहमतिका लागि हवाई उडान र वार्ता दुवै जारी राख्ने सहमति भएको प्रवक्ता कँडेलले बताए ।

सोही निर्णय बमोजिम बुधबार दिउँसो १२ बजे पुनः बैठक बस्न लागिएको उनले बताए । असन्तुष्ट हवाई कम्पनीहरूको पार्किङ सुविधासँगै बढाइएको यात्रु सेवा शुल्क, ल्याण्डिङ शुल्क, पार्किङ शुल्क, नेभिगेशन लगायतका सम्पूर्ण वृद्धि गरिएका शुल्कहरू फिर्ता हुनुपर्ने माग छ । आन्दोलित वायु सेवा सञ्चालक सङ्घले क्यान समक्ष ५ बुँदे मागपत्र राखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस