आज बिहान ११ बजेबाट हवाई सेवा सुरु गर्ने सहमति, वार्ता भने जारी रहने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

आज बिहान ११ बजेबाट हवाई सेवा सुरु गर्ने सहमति, वार्ता भने जारी रहने


८ असार २०७९, बुधबार


काठमाडौँ । सरकारी निर्णयको विरोध गर्ने नाममा यात्रुलाई २४ घण्टाको सूचनासमेत नदिई सबै हवाई सेवा बन्द गर्ने घोषणा गरेका वायुसेवा सञ्चालकहरूले बुधबार बिहान ११ बजेबाट नियमित उडान गर्ने भएका छन्।

नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच भर्खरै सकिएको वार्तामा उक्त सहमति भएको हो।

गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको समन्वयमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र वायुसेवा सञ्चालक संघका पदाधिकारीबीच प्राधिकरण कार्यालयमा मंगलबार मध्यरात भएको वार्ताले उडान नरोक्ने निष्कर्ष निकालेको छ।

नागरिक उड्डयन प्राधिकरणले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरू राति पार्किङ गर्न काठमाडौँबाहिर विमानस्थलमा लैजानुपर्ने निर्णय गत आइतबार गरेको थियो। त्यसैको विरोधमा वायुसेवा सञ्चालक संघले मंगलबार पत्रकार सम्मेलन गरी बुधबारबाट सम्पूर्ण उडान स्थगनको घोषणा गरेको थियो।

यात्रुहरूप्रति जवाफदेही र जिम्मेवार हुनुपर्ने वायुसेवा कम्पनीहरूले सरकारमाथि दबाब सिर्जना गर्न अत्यावश्यक सेवा ऐन प्रतिकूल हुने गरी हवाई सेवा बन्द गर्ने घोषणा गरेपछि उनीहरूको जिम्मेवारीमाथि प्रश्न उठेको थियो।

हवाई सेवा बन्द गर्दा सिधा असर यात्रुहरूलाई पर्छ। पहिल्यै टिकट काटेर बसेका वा यात्राको योजना बनाइरहेका यात्रु प्रभावित हुन्छन्। अपर्झट काम परेर हवाई मार्गबाट यात्रा गर्न खोजेकाहरूलाई एक्कासि घोषणा गरिएको बन्दले सबभन्दा मर्कामा पार्नेछ।

पछिल्लो समय पहिरोले राजमार्गहरू ठाउँ-ठाउँमा बिग्रिएका छन्। बस यात्रामा लामो समय लाग्छ। यही कष्टबाट बच्न धेरैले हवाई मार्ग प्रयोग गरिरहेका छन्। वायुसेवा सञ्चालक संघले उपभोक्ताको यही अप्ठ्यारोलाई आफ्नो हितमा प्रयोग गर्न खोजेका छन्।

कुनै पनि कारणले अत्यावश्यक सेवा बन्द गर्नु कानुनविपरीत हो। त्यसमाथि सेवा बन्द गर्नुपर्ने अवस्था आए सरकार मात्र होइन, उपभोक्तालाई पनि अग्रिम सूचना दिनुपर्छ, ताकि उनीहरू वैकल्पिक व्यवस्थाको निम्ति तयार होउन्।

वायुसेवा सञ्चालकहरूले भने पूर्व सूचना नदिई आजको भोलि सेवा रोक्ने घोषणा गरेका थिए।

प्राधिकरणले हेलिकप्टर कम्पनीलाई असार ७ (आज) र हवाईजहाज कम्पनीलाई १३ गतेबाट तोकिएको विमानस्थलमा मात्र राति पार्किङ गर्न निर्देशन दिएको थियो। त्रिभुवन विमानस्थलको ‘उडान सुरक्षा सुदृढीकरण’ को कारण देखाउँदै यस्तो निर्णय गरिएको हो।

कुन कम्पनीका कतिवटा जहाज कुन विमानस्थलमा पार्किङ गर्ने भनी तोकेर सोमबार पत्र पठाइएको थियो। हेलिकप्टरका हकमा मंगलबार रातिबाट मात्रै काठमाडौँबाहिर पार्किङ गर्नुपर्ने थियो। तर मंगलबार बिहानको उद्धार उडानसमेत रोकिएपछि वायुसेवा सञ्चालकहरू रुष्ट भएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस