मूल्यवृद्धिको बारेमा सदनलाई जवाफ दिन सरकारलाई राष्ट्रियसभा अध्यक्षको निर्देशन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मूल्यवृद्धिको बारेमा सदनलाई जवाफ दिन सरकारलाई राष्ट्रियसभा अध्यक्षको निर्देशन


७ असार २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका बारेमा सदनलाई जवाफ दिन सरकारलाई निर्देशन गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेका सांसदले मूल्यवृद्धिका बारेमा सरकारले जनतालाई स्पष्ट पार्नुपर्ने र यसबारेमा सरकारलाई निर्देशन दिन अध्यक्ष तिमिल्सिनाको ध्यानाकर्षण गराएका थिए ।

अध्यक्ष तिमिल्सिनाले मूल्यवृद्धिका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै अर्को बैठकमा सम्बन्धित मन्त्रीलाई जवाफ दिन निर्देशन गरे ।

‘राष्ट्रियसभाको बैठकमा मूल्यवृद्धिजस्तो गम्भीर जनसरोकारका विषय उठिरहेको छ । आज पनि यहाँहरुले यो विषय उठाउनुभएको छ, सदनमा उठेका विषयमा संसदमार्फत जनतालाई जवाफ दिनु सरकारको दायित्व पनि हो । यसतर्फ म सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु । अर्को बैठकमा संसदमा दिन निर्देशन गर्दछु ।’

अध्यक्ष तिमिल्सिनाको निर्देशनपछि पनि राष्ट्रियसभामा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले सम्बन्धित मन्त्रीले स्पष्ट जवाफ नदिई सदनको कामकारबाही अगाडि बढ्न नसक्ने र आफूहरुको विरोध रहिरहने बताए । उनले मूल्यवृद्धिबाट प्रभावित जनतालाई राहत प्याकेजसहित सहुलियत दिन स्पष्ट योजना ल्याउन माग गरे ।

एमालेको अवरोधपछि अध्यक्ष तिमिल्सिनाले आजको कार्यसूचीमा रहेको विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकको छलफल अर्को बैठकमा हुने गरी बैठक स्थगनको घोषणा गरे ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र, खानेपानी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमाथिका विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची थियो ।

राष्ट्रियसभाको अर्को बैठक बुधबार १ बजे बस्ने गरी स्थगित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस