एमाले जनप्रतिनिधिद्वारा हेटौँडा कार्यपालिकाको बैठक बहिष्कार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमाले जनप्रतिनिधिद्वारा हेटौँडा कार्यपालिकाको बैठक बहिष्कार


७ असार २०७९, मंगलबार


हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका एमाले जनप्रतिनिधिले कार्यपालिका बैठक बहिष्कार गरेका छन् ।

आज (मंगलबार) भएको बैठकमा दुई बुँदे कार्यविधि संशोधन प्रस्ताव राख्दै माग पूरा नहुने भएपछि उनीहरूले बैठक बहिष्कार गरेका हुन् ।

हेटौँडामा एमालेको बहुमत छ । एमालेले बैठक सञ्चालन कार्यविधि- २०७४ को १५ (२) र १५ (३) मा रहेको व्यवस्थालाई संशोधन गरिनुपर्ने माग राखेको थियो ।

तर, मागको विषयमा मेयर-उपमेयर लचिलो नबनेपछि आफूहरूले बाध्य भएर बैठक बहिष्कार गर्नुपरेको वडा नम्बर १५ का वडाध्यक्ष तथा एमाले हेटौँडा नगर दलका प्रमुख सचेतक सुनिल मोक्तानले बताए ।

आगामी १० गते हुने नीति तथा कार्यक्रमको तयारीका लागि बसेको कार्यपालिका बैठकमा आफूहरूले नियम तथा मर्यादापूर्वक आफ्ना मागहरू अघि बढाएकोमा मेयर तथा उपमेयरले दम्भ देखाएको सचेतक मोक्तानले आरोप लगाए ।

उनले भने ‘उहाँहरु हाम्रो मागलाई सम्बोधन गर्ने पक्षमा हुनुहुन्न, पेलेर जाने पक्षमा हुनुहुन्छ, हामीले विषयगत समिति निर्माण गरेर बजेट निर्माण गरौँ भन्दा उहाँहरुले अहिले बेला घर्कियो भनेर आलटाल गर्नुभयो, यसरी नगरको हित हुँदैन ।’

बहुमत कार्यपालिका सदस्य बाहिर हुँदा समेत बैठक सञ्चालन गरेर जनमतको भावानाविपरीत काम गरेको एमालेको आरोप छ ।

हेटौँडा उपमहानगर कार्यपालिकामा एमालेबाट १८ जना, काँग्रेसबाट ९ तथा नेकपा एकीकृत समाजवादीबाट २ जना सदस्यहरू छन् । नगर सभामा पनि नेकपा एमाले ५१ जनासहित बहुमतमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस