१५ वर्षे एकीकृत शहरी विकास योजना जसले बदल्ने छ सिद्धार्थनगरको स्वरूप « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१५ वर्षे एकीकृत शहरी विकास योजना जसले बदल्ने छ सिद्धार्थनगरको स्वरूप


७ असार २०७९, मंगलबार


सिद्धार्थनगर । संविधान जारी भइसकेपछि मुलुकका ७५३ स्थानीय तहमा दुई दशकपछि स्थानीय तहको निर्वाचन सम्पन्न भयो । कतिपय नयाँ बनेका पालिका र कति पुरानै स्थानीय तहले लामो समयपछि स्थानीय पालिकामा जनताका प्रतिनिधि निर्वाचित गर्ने अवसर पाए। त्यस मध्यकै एक हो लुम्बिनी प्रदेशमा रहेको सिद्धार्थनगर नगरपालिका जुन २०३३ सालमा स्थापना भएको नगरपालिका हो । 

२०२४ सालमा भैरहवा नगर पञ्चायतको नामबाट औपचारिक रूपमा नगरपालिका घोषणा भएको थियो। पुरानै नगरपालिका भएकाले कतिपय संरचना निर्माणको कामले गति लिएको थियो। तर, संविधान जारी भइसकेपछि स्थानीय तहले प्राप्त गरेको अधिकार र २०७४ मा स्थानीय तहको निर्वाचन पछि भने यस नगरपालिकाले पनि स्वरूप परिवर्तनका लागि केही महत्त्वपूर्ण आधारहरू निर्माण गरेको छ । 

नगरपालिकालाई नयाँ गति दिनका लागि जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि यस नगरपालिकाले गरेको एउटा दीर्घकालीन कामका रूपमा एकीकृत शहरी विकास योजनालाई लिन सकिन्छ । नवौँ नगर सभाबाट एकीकृत शहरी विकास योजना २०२०–२०३५ पारित गरेर यो नगरपालिकाले विभिन्न परियोजनालाई अघि बढाउने लक्ष्य लिएको छ । दिगो शहरी विकासका लागि योजनाले १५ वर्ष भित्र गरिने परियोजनाहरूको प्रभावकारी कार्यान्वयन र व्यवस्थापनमा मार्ग निर्देश गर्ने भनिएको छ । 

विभिन्न क्षेत्रमा प्रस्तावित गरिएका परियोजनाहरू १ देखि ५ वर्षसम्म, ६ वर्षदेखि १० वर्षसम्म र ११ वर्षदेखि १५ वर्षसम्म गरी ३ फरक समय अवधिका लागि प्रस्ताव गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनी बताउँछन् । 

भौतिक पूर्वाधार क्षेत्र अन्तर्गत सडक, ढल निकास, पुल, ल्याण्डफिल साइट, मोनो र मेट्रो रेल जस्ता कार्यक्रमहरूलाई दीर्घकालीन योजना मानिएको छ भने अन्य क्षेत्रका योजनाहरू छोटो समय र मध्यकालीन समयका लागि प्रस्तावित गरिएको छ ।

१५ वर्ष अवधिको लागि दिगो शहरी विकास गर्नका लागि यस नगरपालिकाले बजेटको अनुमान समेत आङ्कलन गरी सकेको छ। जस अनुसार २२ अर्ब ८ करोड ९७ लाख ३० हजार अनुमान गरिएको छ । 

आर्थिक विकास क्षेत्र अन्तर्गत ३ वटा शीत भण्डार स्थापना, जैविक मल खाद उत्पादनका लागि अनुदानको व्यवस्था, माछा पालन, ग्रामीण क्षेत्रको लागि पहुँच मार्गको सुधार, सिँचाई योजनाहरू, सिँचाईका लागि पम्पसेट वितरण, रात्रिकालीन बजार सञ्चालन, पर्यटकहरूका लागि पार्किङ स्थल निर्माण, विद्युतीय वाहनको सम्बद्र्धन, प्रत्येक वडामा सब्जीमण्डी निर्माण, हाल नगरपालिका भवन रहेको ठाउँमा सिनेमा हल सहितको सुविधा सम्पन्न व्यापारिक भवन निर्माण जस्ता मुख्य कार्यक्रमहरू समावेश गरिएको छ। यसको अनुमानित बजेट ७० करोड ३५ लाख ५० हजार लाग्ने उल्लेख गरेको छ ।

संस्कृति तथा पर्यटन क्षेत्र विकास अन्तर्गत प्रमुख मन्दिर तथा स्थान जोड्ने १५ कि.मी. पैदल मार्ग निर्माण, शहरको मुख्य भागबाट कोटिमाई मन्दिर जाने बाटोको सुधार, दुर्गा मन्दिर, राधाकृष्ण मन्दिरको भौतिक सुधार, बैङ्क रोडमा भएका घरहरूको अगाडिको भागमा सुधार, ७ वटा पर्यटक जानकारी केन्द्र सञ्चालन र नगरपालिकाको बृहत् पर्यटन योजना तयार गर्ने मुख्य कार्यक्रमको रूपमा समावेश गर्दै त्यसका लागि अनुमानित बजेट २७ करोड ९० लाख खर्च लाग्ने भनिएको छ । 

त्यस्तै सामाजिक विकास क्षेत्र अन्तर्गत १९ वटा प्राथमिक विद्यालयको निर्माण, प्रारम्भिक वाल विकास कार्यक्रम, ई–सिकाई सामाग्रीहरूको वितरण, गुणस्तरीय शिक्षाका लागि कार्यक्रम, सीमान्तकृत समूहका बालबच्चाका लागि प्रोत्साहनको व्यवस्था, सरकारी विद्यालयहरूमा भौतिक सुविधामा सुधार, स्वास्थ्य क्षेत्रको सुधारका लागि कार्यक्रम, भीम अस्पतालको भौतिक सुधार, महिला, बालबालिका र सीमान्तकृत समुदायको कल्याणको लागि विभिन्न कार्यक्रमहरू, बालबच्चाको पुनर्स्थापना केन्द्रको स्थापना, १७ वटा सामुदायिक पुस्तकालय, अनाथालयको स्थापना, बहुउद्देश्यीय भवन निर्माण, १३ वटा प्रहरी पोस्टको निर्माण, सङ्ग्रहालयको निर्माण योजना समावेश गरिएको छ। यसका लागि १ अरब ६३ करोड ५९ लाख बजेट अनुमान गरिएको छ ।

भौतिक पूर्वाधार क्षेत्र अन्तर्गत ४५ कि.मी. नयाँ सडक, भइरहेको १२१ कि.मी. सडकको स्तरोन्नति, २७१ कि.मी. सडकको नियमित मर्मत सम्भार, ७५ कि.मी. सडक चौडा पार्ने, ४ वटा आकाशे पुल र २ वटा फ्लाईओभर पुल, चक्रपथ, मोनोरेल, मेट्रोको अध्ययन र निर्माण, १३५.५ कि.मी. सडक नालाको निर्माण, २०० कि.मी. ढल निर्माण, ल्याण्डफिल्ड क्षेत्रको निर्माण, २ वटा प्रशोधन प्लान्ट, १ वटा नयाँ बस टर्मिनल, २० वटा बस बिसौनी, ५ वटा पार्किङ स्थल निर्माण, प्रत्येक वडामा एक एक वटा खानेपानीको ओभर हेड ट्याङ्की, भूमिगत पानी पुर्नभरण र आकाशे पानी सङ्कलन र सिँचाइ योजनाको विकास समावेश गरिएको छ । यी सबै योजनाका लागि ११ अरब, ९६ करोड ९ लाख १० हजारको अनुमानित बजेटको अनुमान गरिएको छ । 

रणनीतिक योजना अन्तर्गत डण्डाखोला करिडर विकास, पूर्ण सुविधा सहितको पञ्चवाटिका उद्यान निर्माण, भैरहवा गेट, सामुदायिक कृषि विकास तथा सिद्धार्थ क्रिकेट रङ्गशाला निर्माण प्रस्ताव गरिएको छ। यसको अनुमानित बजेट ५ अरब ९८ करोड ५ लाख ७० हजारको प्रस्ताव उल्लेख छ। 

वातावरण व्यवस्थापन क्षेत्र अन्तर्गत पशु वधशालाको निर्माण, छुट्टै साइकल लेन र पैदल यात्रीका लागि फुटपाथ निर्माण, वातावरण संरक्षणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम, वृक्षारोपण कार्यक्रम समावेश गरिएको छ । यसको अनुमानित बजेट ७४ करोड ७५ लाख राखिएको छ । 

विपद् व्यवस्थापन क्षेत्र अन्तर्गत डण्डाखोलाको बाढी नियन्त्रण, विपद् तथा जोखिम व्यवस्थापन सम्बन्धी विभिन्न तालिम, विपद् सम्बन्धी विभिन्न कार्यदलहरूको निर्माण र उनीहरूलाई तालिम, भूकम्प प्रतिरोधी भवन निर्माणमा सहुलियत जस्ता कार्यक्रमहरू मुख्य रूपमा समावेश गरिएको छ। जसको अनुमानित बजेट १३ करोड २९ लाख छ ।

सुशासन तथा संस्थागत विकास क्षेत्र अन्तर्गत नगरपालिकाको सुविधा सम्पन्न आधुनिक भवन निर्माण, वडा कार्यालयहरूको भवन निर्माण, कर्मचारीहरूको लागि क्षमता अभिवृद्धि तालिम, जनप्रतिनिधिहरूको लागि नेतृत्व विकास सम्बन्धी तालिम, विभिन्न ऐन, नियम, नियमावली र निर्देशिका तयार गर्ने, नगरपालिकाको वेबसाइट नियमित सञ्चालन गर्ने लगायतका कार्यक्रम पनि समावेश गरिएका छन् ।

‘हामीले समग्र नगरको स्वरूप फेर्न गरेर काम गरिरहेका छौँ। त्यसै अनुसार योजना र कार्यक्रम पनि सञ्चालनमा गरिएका छन्,’प्रमुख प्रशासकीय अधिकृत मरासिनीले भने,‘जनप्रतिनिधिको पहिलो कार्यकालमा भएका काम र नयाँ आएको नेतृत्वबाट थप उत्कृष्ट काम भएर नगरको भविष्य निर्माणका लागि महत्त्वपूर्ण काम हुनेछन् ।’ 

‘हामीले त्यसलाई एउटा आधार मानेर १५ वर्षको योजना बनाएका हौँ। पहिलो कार्यकालमा धेरै काम भएका छन्,’उनले भने,‘यी सबै योजना सम्पन्न गर्नका लागि स्रोत जुट्छ भन्नेमा ढुक्क छौँ ।’

उनले आन्तरिक स्रोत, सङ्घीय सरकारबाट पाउने सहयोग र एसियाली विकास बैङ्कले गर्ने लगानीबाट स्रोत जुट्ने उनी बताउँछन् ।

‘हाम्रो आन्तरिक स्रोत पनि ६ करोडबाट बढेर १९ करोड पुर्‍याइसकेका छौँ,’ उनले भने,‘३४ करोड आन्तरिक आम्दानी पुर्‍याउने लक्ष्य रहेको छ। अबको केही वर्षमा त्यो सम्भव हुन्छ भन्ने हाम्रो कुरा हो ।’

उनले सङ्घीय सरकार र प्रदेश सरकार समेतको सहयोगमा नगरपालिकाले लिएको लक्ष्य पुरा हुने दाबी गर्छन्। पहिलो कार्यकाल कानुन निर्माण र आधारभूत संरचना बनाउनेमा नै केन्द्रित भएको उनको भनाई छ । 

‘गरिबको घर बनाउने भन्ने कार्यक्रम महत्त्वपूर्ण रह्यो त्यस अन्तर्गत हामीले झन्डै ७० घर निर्माण गरेऊ,’उनले भने,‘सार्वजनिक जग्गाको संरक्षण गर्ने तर्फ पनि नगरपालिकाले महत्त्वपूर्ण काम गरेको छ ।’

सार्वजनिक क्षेत्र अतिक्रमण हुन नदिएर नगरपालिकाले यो अवधिमा सार्वजनिक खेल मैदान निर्माण लगायतका कामहरू समेत गरेको छ । बाल उद्यान निर्माण लगायत पर्यावरण संरक्षण क्षेत्रको संरक्षण गर्ने हिसाबले पर्यटकीय क्षेत्रलाई समेत ध्यानमा राखेर काम गरिएको नगरपालिकाले जनाएको छ ।

‘पहिलो कार्यकाल भरीमा धेरै बाटा घाटा निर्माण देखि लिएर अन्य भौतिक संरचनाको निर्माण गर्ने काम भएको छ,’उनले भने,‘हामीले यस विषयमा प्रतिवेदन नै तयार पारेर सार्वजनिक गरेका छौँ ।’
उनले पछिल्लो पाँच वर्षे कार्यकालमा भौतिक संरचना निर्माणका अधिकांश काम सम्पन्न गरिएको जानकारी दिए ।

‘हामीले बनाएको एकीकृत शहरी विकास योजना अन्तर्गत करि १२ देखि १४ अर्ब चाहिँ एडिबीको कार्यक्रम अन्तर्गत प्राप्त हुन्छ भन्ने लक्ष्य छ,’उनले भने,‘बाँकी बजेटको व्यवस्थापन आन्तरिक सहित सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने बजेटबाट व्यवस्थापन गर्ने भन्ने तयारी छ ।’

नगरको १५ वर्षे एकीकृत शहरी विकास योजना बनाएर त्यसलाई प्रभावकारी रूपमा अघि बढाउने सिद्धार्थनगरको यो कामलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने देखिन्छ । सिद्धार्थनगर नगरपालिका लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको दक्षिण भेगमा अवस्थित रहेको छ । कुल क्षेत्रफल ३६.०३ वर्ग कि.मी. ओगटेको नगरपालिका समुद्र सतहबाट ११० मिटरको उचाइमा रहेको छ भने नगरपालिकामा उष्णप्रदेशीय हावापानी पाइन्छ ।

सिद्धार्थनगर नगरपालिकामा नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’ रहेको छ। सिद्धार्थनगर नगरपालिका नेपाल र भारतको सिमानामा पर्ने मुख्य प्रवेशद्वारहरू मध्ये एक महत्त्वपूर्ण पर्यटकीय, व्यापारिक र औद्योगिक केन्द्रको रूपमा स्थापित छ। भगवान् गौतम बुद्धको बाल्यकालको नाम सिद्धार्थ (सर्व अर्थ सिद्ध) बाट यस नगरपालिकाको नामकरण गरिएको छ । सांस्कृतिक परम्परा र मान्यताहरू साहित्य, भाषा, कला, धर्म, संस्कृतिको साझा सङ्गमको रूपमा यो नगरपालिका रहेको छ ।

१९९० सम्म नगण्य रूपमा मात्र बस्तीहरू भएको यस नगरमा २०१० सालमा शान्तिनगरमा हवाई मैदान निर्माण भएपछि बस्ती विकासको गतिमा तीव्रता आएको पाइन्छ। १३ वटा वडामा विभाजित नगरपालिकाको सिमानामा पूर्वमा ओमसतिया र रोहिणी गाउँपालिका, पश्चिममा मायादेवी गाउँपालिका, उत्तरमा ओमसतिया र मायादेवी गाउँपालिका र दक्षिणमा भारतको सुनौली पर्दछ ।

अन्य पालिका भन्दा सिद्धार्थनगरले विभिन्न दातृ निकायले उपलब्ध गराएको कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरेका कारणले भविष्यमा पनि सहयोग निरन्तर हुने आशा रहेको उनले बताए ।

‘दातृ निकायबाट सञ्चालित कार्यक्रम अन्य पालिकामा सफल भएनन्। तर,हामीले कार्यक्रम सुरु गरेर सम्पन्न ग¥यौँ,’उनले भने,‘एडिबीले हामीलाई समयमा नै कार्यक्रम सम्पन्न गरेको भनेर पुरस्कृत नै गरेको छ। त्यसले पनि हामीलाई सहयोग ग¥यो ।’

उनले आगामी सञ्चालन गर्ने कार्यक्रमका लागि पनि डीपीआर तयार गरिएको बताए। शहरी विकास मन्त्रालय लेखि एसियाली विकास बैङ्कमा प्रस्तुत गर्ने कार्यक्रमको पनि सम्पूर्ण तयारी गरेर पेस गरिएकाले पनि सिद्धार्थनगर पालिकाको योजनामा सफलता प्राप्त हुने उनी बताउँछन् ।

‘विगतको भन्दा हामीले आगामी कार्यकालमा गर्नुपर्नेछ। त्यसतर्फ हाम्रो ध्यान जानेछ,’उनले भने,‘हामीले जनताको दैनिक जीवनसँग जोडिएका विषयमा पनि विकास निर्माणको कामलाई निरन्तरता दिने गरेर काम अघि बढाउँछौँ ।’

उनले नगरपालिकामा ६ वटा वडामा स्वास्थ्यका संरचना निर्माण गरिएको बताए। कोभिड १९ को समयमा ६५ जिल्लाका समेत नागरिकलाई व्यवस्थापन गर्ने गरी काम भएको उनी बताउँछन्। ‘स्वास्थ्य र शिक्षाका क्षेत्रमा धेरै आधारभूत सेवा हामीले प्रदान गर्न सकेका छौँ,’उनले भने,‘अन्य पूर्वाधार निर्माणको कामलाई पनि हामीले यो पहिलो कार्यकालमा धेरै सुधार गरेका छौँ ।’

उनले प्रविधिमा आधारित भएर नगरपालिकाले काम गर्दै आएको जानकारी दिए। उनका अनुसार अन्य कुनै पालिकाले गर्न नसकेको काम नगरपालिकाले बिना चेक सबै खाले भुक्तानी अनलाइनबाट हुँदै आइरहेको बताए। ‘अलाइनबाट हुने भुक्तानी अरू कसैले गर्न सकेको छैन हामीले गरिरहेका छौँ,’उनले भने,‘कर तिर्नका लागि पनि हामीले ई सेवा लगायतका संरचनाबाट गर्न मिल्ने बनाएका छौँ ।’

उनले कर सङ्कलन देखिका सबै कामहरू प्रविधिको प्रयोग गर्दै अनलाइनको माध्यमबाट गर्ने परिपाटीको सुरुवात गरिएकाले यसले आम नगरवासीलाई निकै सहज बनाएको बताए । उनले पञ्जिकरण व्यवस्थापन देखि लिएर अन्य धेरै काम पनि अनलाइनको माध्यमबाट सुरुवात गरिएको बताए । ‘हामीले प्रविधिको माध्यमबाट गरेको कामको अन्य पालिकाबाट पनि आएर हेर्ने र सिक्ने गरिरहनु भएको छ,’उनले भने,‘त्यसले धेरै सकारात्मक रूपमा हाम्रो कामलाई लिएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस