प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अगाडि नबढ्नुको कारण माग « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अगाडि नबढ्नुको कारण माग


६ असार २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेका सांसद लालबाबु पण्डितले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण सभामुख अग्निप्रसाद सापकोटासँग माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सभामुखले नै महाअभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘यस महाअभियोग प्रस्तावमा सभामुख ज्युको जिम्मेवारी र दायीत्य हुन्छ कि हुँदैन ? हुन्छ भने सभामुखले कहिलेबाट हामीले महाअभियोग समितिले विषयवस्तु पाउने ? काम गर्न पाउने ? देश र जनताले उठेका प्रश्नहरुको जवाफ पाउने ? यस बारेमा सभामुखजीको बिचार संसदले जानकारी चाहन्छ ।’

आफु ११ सदस्यीय महाअभियोग सिफारिस समितिको सदस्य समेत भएको उल्लेख गर्दै सांसद पण्डितले थपे, ‘जिम्मेवारी नपाएकोले गर्दा जिम्मवारी बिहीन समितिको औचिय के हो ? कहिलेसम्म जिम्मेवारी बिहीन अवस्थानमा बस्ने ? म सभामुखजीबाट जवाफ चाहन्छु ।’

महाअभियोग प्रस्ताव ल्याउनेहरु कहाँ हराए ? भन्ने पनि उनको प्रश्न छ । ‘त्यो महाअभियोग प्रमुखख प्रतिपक्षीसँग छलफल नगरी ल्याइएको र पास हुन सक्दैन भनेर प्रस्तावकहरु नै हराइसक्नुभएको हो कि ? उहाँहरु प्रस्तावमाथि छानविन गर्नका लागि तयार हुनुहुन्न के भएको हो ?’ पण्डितको प्रश्न छ ।

महाअभियोग ल्याउने र अगाडि नबढाउनु संविधानिक व्यवस्थाको दुरुपयोग भएको ठहरिने उनको जिकिर छ । उनी प्रश्न गर्छन, ‘संविधानमा महाअभियोगको प्रस्तावको जुन व्यवस्था छ । यदि यसको दुरुपयोग भयो भने संविधानको यो व्यवस्थालाई जनताले कसरी बुझ्दछन ? भविष्यमा यस्ता संस्थाहरुको जिम्मेवारी र दायित्व कसरी अगाडि बढ्छ ?’

१ फागुन २०७८ देखि प्रतिनिधिसभामा प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव बिचाराधीन छ । जबराविरुद्ध पाँच दलीय सत्तागठबन्धनमा आवद्ध ९८ सांसदले संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

प्रतिनिधिसभाले २२ फागुन २०७८ मा ११ सदस्यीय महाअभियोग सिफारिस समिति पनि गठन गरेको थियो । तर, हालसम्म प्रतिनिधिसभाले जबराविरुद्धको महाअभियोग प्रस्ताव महाअभियोग समितिमा पठाएको छैन। यहीँनेर सांसद पण्डितले प्रश्न गरेका छन्, ‘यही सदनबाट महाअभियोग प्रस्तावमाथि छलफल गर्न समिति बनेको छ । उक्त महाअभिधयोग समितिले किहिले काम पाउने हो ?’

महाअभियोग सिफारिस समितिमा एमालेका चार, काँग्रेस र माओवादी केन्द्रका दुई–दुई, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एक–एक जना सांसद छन्।

समिति सभापतिमा एमालेका विष्णु पौडेल छन् । सदस्यहरुमाएमालेबाट शिवमाया ताम्बाहाङफे, कृष्णभक्त पोखरेल र लालबाबु पण्डित छन । कांग्रेसबाट मीनबहादुर विश्वकर्मा र रामबहादुर विष्ट, माओवादी केन्द्रकी यशोदा सुवेदी गुरुङ र रेखा शर्मा, एकीकृत समाजवादीकी कल्याणी खड्का, जसपाका प्रमोद साह र लोसपाका एकवाल मिया रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस