बैतडीका आठ पालिका पूर्ण खोप सुनिश्चित घोषणा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बैतडीका आठ पालिका पूर्ण खोप सुनिश्चित घोषणा


५ असार २०७९, आइतबार


बैतडी । बैतडीका आठ वटा स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएका छन् ।

सोह्र महिनादेखि २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने खोप पाएपछि ती पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएका हुन् ।

जिल्लाको मेलौली, पुर्चौंडी, पाटन नगरपालिका, शिवनाथ, सिगास, डिलाशैनी, सुर्नया र पञ्चेश्वर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

बाँकी रहेका दनपा र दोगडा दुई पालिकालाई पनि एक–दुई दिनभित्रै पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

पालिकाभित्र रहेका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने गरिन्छ । स्वास्थ्यचौकीबाट खोप लाएको प्रमाणीकरण वडा स्तरीय खोप समन्वय समितिले प्रमाणीकरणसहित पालिकालाई सिफारिस गर्ने गर्दछ ।

नगरप्रमुख तथा गाउँपालिका अध्यक्षको नेतृत्वमा रहेको पालिका स्तरीय खोप समन्वय समितिले पनि प्रमाणीकरण गरेपछि पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिने प्रावधान रहेको छ ।

पालिकाले जिल्ला खोप समन्वय समितिलाई प्रमाणीकरणसहितको सिफारिस गर्दछ । यसपछि पालिकाले गरेको पूर्णखोप सुनिश्चिततालाई प्रमाणीकरण गर्न स्वास्थ्य कार्यालयले घरधुरी सर्वेक्षण गर्दछ । त्यसपछि मात्रै जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गरिन्छ ।

सबै पालिका पूर्णखोप सुनिश्चितता भए पनि यही असार ६ गते बैतडीलाई पूर्णखोपयुक्त जिल्ला घोषणा गर्ने तयारी छ । बैतडी जिल्ला विसं २०७२ असार ६ मै पूर्ण खोपयुक्त जिल्ला घोषणा भइसकेको र त्यसपछि हरेक वर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस