बैङ्कबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्नुस् : मुख्यमन्त्री शाही « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बैङ्कबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्नुस् : मुख्यमन्त्री शाही


४ असार २०७९, शनिबार


कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बैङ्कबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्न आग्रह गरेका छन् ।

नेपाल आर्थिक पत्रकार सङ्घ र मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालद्वारा आज सुर्खेतमा आयोजित प्रदेशस्तरीय पुँजी बजार सचेतना कार्यक्रममा उनले आफूसँग भएको स्रोतलाई मात्र परिचालन गर्न सुझाव दिए ।

मुख्यमन्त्री शाहीले पुँजी बजार लगानीकर्ता र बैंकर्सलाई ‘पाकेटमारा’ जस्तो व्यवहार नगर्न आग्रह गरे । ‘शेयर बजार कहिले बढ्छ, कहिले घट्छ, सधैँ एकनासको हुँदैन’, उनले भने, ‘शेयर बजार केही व्यक्तिमा सीमित गर्नुभएन, शेयर बजारमा पनि नियामक निकाय छ भन्ने आभास दिलाउनुस् ।’

कर्णालीमा पुँजी बजार लगानीकर्ताको सङ्ख्या निकै कम रहेको भन्दै उनले विकासको गति, पुँजी बजार सचेतना, बैङ्किङ सुविधा पहुँचका कारण बढ्ने विश्वास व्यक्त गरे । मुख्यमन्त्री शाहीले प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले वित्तीय अनुशासन कायम गर्ने दाबी गरे । उनले कर्णाली प्रदेश र मुलुकको आर्थिक अवस्थालाई मध्यनजर गरी सात प्रदेशमा सबैभन्दा कम आकारको बजेट आफूले ल्याएको बताए ।

बजेटमा यसअघि महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएका त्रुटि सच्याएको तथा मुख्यमन्त्री कार्यालयको बजेट घटाएर सम्बन्धित विभागीय मन्त्रालयमा पठाएर वित्तीय अनुशासन कायम गरेको उनको भनाइ थियो । ‘चुनाव लक्षित, वितरणमुखी बजेट ल्याउन सकिन्थ्यो’, उनले भने, ‘विगतका कमजोरी सच्याइएको छ, बहु वर्षीय योजना र क्रमागत योजनालाई पूरा गर्न बजेट केन्द्रित गरिएको छ ।’

सचेतना कार्यक्रममा पुँजी बजार क्षेत्रको नियामक निकाय नेपाल धितो पत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारीले प्राथमिक शेयर भर्ने प्रक्रियामा सुधारसँगै शेयर बजारप्रति आकर्षण बढेको बताए । उनले प्राथमिक बजारको तुलनामा दोस्रो बजारमा प्रवेश गर्दा भने पुँजी बजारको विषयमा बुझेर र आवश्यक मात्रामा समयको व्यवस्थापन गर्नुपर्ने सुझाव दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका प्रदेश अध्यक्ष पदमबहादुर शाहीले पछिल्लो समय पुँजी बजार अर्थतन्त्रको महत्त्वपूर्ण खम्बा भएको धारणा राखे । त्यस्तै नेपाल उद्योग परिसङ्घका प्रदेश उपाध्यक्ष विष्णुकुमार खड्काले राज्यका निकायबाटै शेयर बजार असुरक्षित हुनुका साथै लगानीकर्ता निराश बन्न पुगेको बताए ।

नेपाल आर्थिक पत्रकार सङ्घका अध्यक्ष मोदनाथ ढकालले सचेतना कार्यक्रमले कर्णाली प्रदेशमा पुँजी बजारका लगानीकर्ता बढ्ने अपेक्षा व्यक्त गरे । एक दिने सचेतना कार्यक्रममा कर्णालीका आर्थिक क्षेत्रमा संलग्न व्यक्तिका साथै शिक्षक, विद्यार्थीलगायतको सहभागिता छ ।

Tags :
प्रतिक्रिया दिनुहोस