मन्त्रिपरिषद् पुनर्गठन गर्न देउवा तयार, हेरफेर हुँदै मन्त्री « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिपरिषद् पुनर्गठन गर्न देउवा तयार, हेरफेर हुँदै मन्त्री


४ असार २०७९, शनिबार


काठमाडौँ । सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादीले आफ्नोतर्फबाट सहभागी मन्त्री परिवर्तन गर्न चाहेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । काँग्रेस र माओवादीले भने तत्काल मन्त्री हेरफेर गर्न चाहेका छैनन् ।

एकीकृत समाजवादीले सचिवालय बैठकबाटै आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरिसकेको छ भने आन्तरिक विवादमा फसेको जसपाको दुवै समूहले मन्त्री हेरफेर गर्नेबारे प्रधानमन्त्रीसँग छलफल गरिसकेका छन् । ‘प्रधानमन्त्री सुदूरपश्चिम प्रदेशका कार्यक्रम सकाएर फर्किएपछि मन्त्रिपरिषद् हेरफेर हुन्छ,’ बालुवाटार स्रोतले भन्यो, ‘उहाँले एकीकृत समाजवादी र जसपाको आन्तरिक राजनीतिमाथि पनि नजर राख्नुभएको छ । गठबन्धनको साझेदार दल माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग पनि संवाद गरिरहनुभएको छ ।’

मन्त्री हेरफेरमा प्रधानमन्त्रीले ढिलाइ गरेको भन्दै एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसहितका केही नेताले सार्वजनिक रूपमै असन्तुष्टि जनाउँदै आएका छन् ।

एकीकृत समाजवादीले मन्त्रीहरू प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ, विरोध खतिवडा र रामकुमारी झाँक्रीलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार र भवानी खापुङलाई स्वास्थ्यमन्त्री तथा हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

एकीकृत समाजवादीका तर्फबाट सुरुमा मन्त्री पठाउँदा नै ६ महिनाका लागि समय तोकिएको नेता मुकुन्द न्यौपानेले बताए ।

पहिला पार्टीले जानकारी नदिईकन र संसद्मा मन्त्रालयगत छलफल चलिरहेका बेला फिर्ता बोलाउने निर्णय गरिएको भन्दै एकीकृत समाजवादीका मन्त्रीहरू असन्तुष्ट बनेका थिए । नेताहरूका अनुसार बजेट पास भइसकेको स्थितिमा पार्टी निर्णय मान्न उनीहरू पनि तयार भएका छन् ।

गठबन्धनको अर्को सहयात्री दल जसपामा अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबिच मतभेद बढेको छ । दुवै पक्ष पार्टी विभाजन हुन सक्ने भन्दै बहुमत आफ्नोतर्फ पार्न सांसद तानातानमा छन् । स्रोतका अनुसार मन्त्री बदलेर भए पनि यादव पार्टीमा बहुमत बचाइराख्ने दाउमा छन् भने भट्टराई मन्त्रीको अफरसहित धेरै सांसदलाई आफ्नो पक्षमा पार्ने योजनामा छन् । यादव र भट्टराई दुवैले प्रधानमन्त्रीलाई भेटेर आफूले सिफारिस गरेअनुसार मन्त्रिपरिषद् हेरफेर गर्न आग्रह गरेको बालुवाटार स्रोतले बताएको छ । तर पनि मन्त्री परिवर्तन गर्नेबारे पार्टीमा कुनै छलफल नभएको अध्यक्ष यादवले बताएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवा जसपाको विवाद टुंगिए त्यहीअनुसार अगाडि बढ्ने योजनामा छन् । माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले गठबन्धन प्रभावित हुने गरी जसपाको आन्तरिक राजनीतिमा प्रवेश नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

गठबन्धनका दुई ठूला दल काँग्रेस र माओवादीले भने तत्काल मन्त्री हेरफेर नगर्ने भएका छन् । माओवादी नेता नारायणकाजी श्रेष्ठले पार्टीका तर्फबाट मन्त्री हेरफेर गर्नेबारे छलफल नभएको बताए ।

माओवादी नेता वर्षमान पुनले मन्त्री हेरफेर गर्नुपर्छ भनेर पार्टीमा कुरा उठे पनि निर्णय नभएको बताए । अर्थमन्त्री जनार्दन शर्मा पटक–पटक विवादमा आएको भन्दै माओवादीका कतिपय नेताले मन्त्री हेरफेर गर्न अध्यक्ष दाहाललाई दबाब दिए पनि उनी यसका लागि तयार नभएको बताइएको छ ।

काँग्रेसमा मन्त्री हेरफेरबारे कुरा उठे पनि प्रधानमन्त्री देउवा तयार छैनन् । काँग्रेस प्रवक्ता प्रकाशशरण महतले पनि मन्त्री हेरफेर गर्नेबारे पार्टीमा छलफल नभएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस