चालु आवमा लक्ष्यको एक तिहाइ मात्रै सडक कालोपत्र हुने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चालु आवमा लक्ष्यको एक तिहाइ मात्रै सडक कालोपत्र हुने


३ असार २०७९, शुक्रबार


काठमाडौँ । चालु आर्थिक वर्षमा लक्ष्यको एक तिहाइ सडक मात्रै कालोपत्र हुने भएको छ ।

पूरक बजेट ढिला आउनु, कोभिड सङ्क्रमण नहट्नु र निर्माण व्यवसायीको ‘कन्स्ट्रक्सन होलिडे’ का कारण लक्ष्यभन्दा कम मात्रै सडक कालोपत्र हुने देखिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवमा एक हजार ८०० किमी सडक कालोपत्रको लक्ष्य लिएको थियो ।

गत महिनासम्ममा झन्डै ६०० किमी मात्रै कालोपत्र गरिसकिएको सडक विभागका महानिर्देशक अर्नुनजङ्ग थापाले बताए ।

आठ सय किमी सडक ग्राभेल गर्ने लक्ष्य लिइएकामा हालसम्म २९५ किमी सम्पन्न भएको छ । अहिले पनि ‘कन्स्ट्रक्सन होलिडे’का कारण निर्माण सुस्त छ । उनले भने, ‘यो महिनाको अन्तिमसम्ममा एक डेढ सयसम्म बढ्न सक्छ ।’

गत महिनासम्ममा मन्त्रालयको भौतिक प्रगति ५५ प्रतिशत थियो । भुक्तानी कम भएकाले वित्तीय प्रगति भने झन्डै ३९ प्रतिशत मात्रै थियो । कतिपय योजनामा काम हुने तर बजेट नहुने र कतिपयमा बजेट हुने तर काम नहुने समस्या रहेको छ ।

काम भएको शीर्षकमा पैसा नभएमा काम नभएका शीर्षकबाट त्यसमा रकमान्तर गर्नुपर्ने हुन्छ ।

अर्थ मन्त्रालयमा रकमान्तरका लागि अनुरोध गरिएको र मन्त्रालयले स्वीकृत गरेपछि भुक्तानी गरिने महानिर्देशक थापाले बताए ।

चालु आवमा प्रगति ६० देखि ६५ प्रतिशत पुग्ने अनुमान गरिएको छ । गत वर्षमा सुरु विनियोजनअनुसार ७६ प्रतिशत प्रगति भएको थियो । चालु आवमा गत वर्ष जति प्रगति नहुने उनको भनाइ थियो ।

चालु आवमा पूरक बजेट तीन महिना ढिला भएकाले यकिन विनियोजन ढिला मात्रै थाहा भएको महानिर्देशक थापाले बताए।

पछिल्लो दुई वर्षदेखि कोभिड सङ्क्रमणका कारण निर्माणमा असर पुगिरहेको छ । चालु आवमा पनि सङ्क्रमणका कारण निर्माणमा अवरोध पुगेको भएको मन्त्रालयले जनाएको छ ।

अहिले युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थ, रड, छडलगायतको निर्माण सामग्रीको भाउ निकै बढेको छ । युद्ध अघि ती सामग्रीको भाउ अहिले दोब्बर भएपछि निर्माण व्यवसायीले ‘कन्स्ट्रक्सन होलिडे’ गरिरहेका छन् । महानिर्देशक थापाले भने, ‘व्यवसायीले अलकत्राको काम नगरेको, छडको काम कम गरेको र इन्धन लाग्ने काम कम गरेका छन् ।’

सरकारले केही वर्ष यता बर्सेनि ३०० पुल निर्माणको लक्ष्य लिँदै आएको छ । गत महिनासम्ममा १०१ पुल निर्माण गरिएको थियो । अरु पुल पनि सम्पन्न भइरहेको महानिर्देशक थापाले बताए । कतिपय पुलको मुख्य संरचना निर्माण सकिएर रेलिङ, रङ, पहुँच सडक बन्न बाँकी छ । उनले भने, ‘यो महिनामा गत वर्षभन्दा कम हुँदैन भन्ने विश्वास छ ।’

अहिले निर्माणाधीन सडक र पुल समयमा नसकिएमा असार पछि अवधि थप गर्नुपर्ने हुनसक्ने सडक विभागले जनाएको छ । ठेक्काको अवधि थप्नका लागि कारण चाहिने महानिर्देशक थापाले बताए । योजना समयमा नसकिनु नै प्रमुख कारण भएकाले त्यो अर्को वर्षका लागि धकेलिन सक्ने उनको भनाइ थियो ।

समग्रमा सडकमा प्रगति कम भए पनि राष्ट्रिय गौरवको आयोजनामा भने चालु आवमा छुट्टाइएको रकमभन्दा बढी खर्च हुने देखिएको छ । अहिले नै ती आयोजनामा सुरुमा भएको विनियोजन रकम खर्च भइसकेको छ । भौतिक प्रगतिका आधारमा पनि उल्लेखनीय काम भएको पाइएको विभागका महानिर्देशक थापाले बताए ।

मदन भण्डारी राजमार्गमा चालु आवमा रु दुई अर्ब विनियोजन भएकामा हालसम्म रु साढे तीन अर्ब खर्च भइसकेको छ । सो आयोजनामा अझै एक डेढ अर्ब थप खर्च हुने देखिएको छ ।

हुलाकी राजमार्गमा पनि गत वर्षहरुमा जस्तै धेरै खर्च भएको उनले जानकारी दिए । मध्य पहाडीमा विभिन्न किसिमका विवादले तुलनात्मकरुपमा कम खर्च भएको छ ।

चालु आवमा लक्ष्यभन्दा कम प्रगति हुने देखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले विनियोजन बजेट शीर्षकमाथि प्रतिनिधिसभाको बैठकमा बताएकी थिइन्। सरकारले विगतमा सुरु गरेका कतिपय योजनाका स्तरोन्नति आगामी आवमा हुने उनले त्यस बखत जानकारी दिएकी थिइन्।

चालु आवको पहिलो आठ महिनामा ३२५ किमी सडक कालोपत्र र ८० पुल निर्माण भएको सरकारले गत महिना सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

उक्त सर्वेक्षणअनुसार गत फागुनसम्ममा २६५ किमी सडक खण्डस्मिथ (ग्राभेल) भएको थियो भने ९५ किमी मर्मत भएको थियो ।

हालसम्म १६ हजार ९३९ किमी कालोपत्र सडक र आठ हजार हजार ८२१ किमी कच्ची गरी सडकको लम्बाइ ३३ हजार ८७१ किमी पुगेको छ । गत असारसम्म १६ हजार ६१४ किमी कालोपत्र, आठ हजार ७१ किमी खण्डस्मिथ र आठ हजार ९३१ किमी कच्ची सडक बनेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस