एसपीपीबारे छलफल गर्न संसदीय समितिले प्रधानसेनापतिलाई बोलायो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एसपीपीबारे छलफल गर्न संसदीय समितिले प्रधानसेनापतिलाई बोलायो


२ असार २०७९, बिहिबार


काठमाडौँ । सरकारले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गरेको भन्ने विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको छ ।

संसदीय समितिले भोलि (शुक्रबार) बिहान ९ बजेका लागि बस्ने तय भएको बैठकमा प्रधानसेनापतिलाई एसपीपीबारे छलफल गर्नका लागि बोलाएको हो ।

समिति सभापति पवित्रा निरौला खरेलले एसपीपीका विषयमा विभिन्न कुरा सार्वजनिक भएपछि प्रधानसेनापति शर्मालाई स्पष्ट पार्नका लागि बोलाइएको जानकारी दिइन् ।

एसपीपी कार्यक्रम २०१५ देखि सुरुवात भएको कुरा सार्वजनिक भएको छ । यसको आधिकारिक कुरा के हो ? यसमा सेनाको धारणा के हो ? सन् २०१५, २०१७ र २०१९ मा एसपीपीबारे के-के भएको हो भन्ने बुझ्नका लागि बोलाएका हौँ, उनले भनिन् ।

एसपीपीबारे जानकारीसहित आउन प्रधानसेनापतिलाई पत्राचार गरिएको सभापति खरेलको भनाइ थियो । शुक्रबारको बैठकमा विविध कार्यसूचीअन्तर्गत एसपीपीको विषयमा छलफल हुने समितिले जानकारी दिएको छ । उक्त विषयमा छलफल गर्नका लागि रक्षा मन्त्रालयका सचिव किरणराज शर्मालाई पनि संसदीय समितिले पत्र पठाएको छ ।

समितिको शुक्रबारको बैठकमा नेपालको परराष्ट्र नीति र प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे छलफल गर्नका लागि परराष्ट्रमन्त्री नारायण खड्का र परराष्ट्र सचिव भरतराज पौड्याललाई पनि बोलाइएको छ ।

सम्बन्धित समाचार : सेनाले एसपीपीमा अनुबन्धका लागि पठाएको पत्र सार्वजनिक (पत्रसहित)

सम्बन्धित समाचार : एसपीपीमा सहभागी हुन भन्दै पठाएको पत्रको सत्यता बुझ्न सेनाको मुख्यालयमा आकस्मिक बैठक

Tags :
प्रतिक्रिया दिनुहोस