खार्तुम । सुडानको डार्फरमा पछिल्लो एक हप्तामा झन्डै एक सय मानिस मारिएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय निकायले सोमबार सार्वजनिक गरेको विवरणअनुसार सुडानको पश्चिमी डार्फरमा मात्रै उनीहरु मारिएका हुन् ।
डार्फरको कुल्बुसमा लामो समयदेखि हिंसात्मक घटनाहरु हुँदै गएकाले त्यसैमा परेर उनीहरुको मृत्यु भएको राष्ट्रसङ्घीय शरणार्थी सम्बन्धी निकायले जनाएको छ ।
स्थानीय अरब मिलिसियाले विभिन्न गाउँहरुमा आक्रमण गर्दै आएका छन् । निरन्तर आक्रमणका कारण हजारौँ मानिस विस्थापित पनि भएका छन् ।
राष्ट्रसङ्घीय अधिकारीहरुले हिंसात्मक घटना निरन्तर भइरहेकाले मानवीय क्षति पनि निरन्तर हुँदै आएको बताएका छन् ।
उनीहरुले हिंसा अन्त्य गर्ने गरी तत्काल समस्या समाधानका उपायहरु खोज्न पनि सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।
जनताको जीवन रक्षाका लागि स्थानीय अगुवा, अधिकारप्राप्त व्यक्तिहरु, सुरक्षाकर्मीलगायत सबैले ध्यान दिनुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् । डार्फर क्षेत्रमा सन् २००३ देखि गृह युद्ध भइरहेको छ ।
तत्कालीन राष्ट्रपति ओमर अल बशिर विरुद्ध सुरु भएको द्वन्द्व अहिले पनि चलिरहेको छ । राष्ट्रपति बशिरलाई भने सन् २०१९ को अप्रिलमा अपदस्थ गरिएको थियो ।
त्यसपछि भएका विभिन्न सहमति तथा सम्झौताहरु पालना नभएकाले द्वन्द्व चलिरहेको हो ।