विश्वकप लिग टू क्रिकेट : आज ओमानसँग भिड्दै नेपाल « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

विश्वकप लिग टू क्रिकेट : आज ओमानसँग भिड्दै नेपाल


३१ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिकामा भइरहेको त्रिकोणात्मक शृंखलामा नेपालले आज ओमानसँग खेल्दैछ ।

शृंखलामा नेपालले आफ्नो तेस्रो खेल खेल्न लागेको हो । ओमानको भने शृंखला मात्र नभएर लिग टू मै यो अन्तिम खेल हो ।

लिग टू मा सहभागी ७ टिमले कुल ३६ खेल खेल्न पाउने प्रावधान अनुसार ओमान आज अन्तिम खेल खेल्दैछ । ३५ खेल खेलिसकेको ओमान ४४ अङ्कसहित अङ्कतालिकामा शीर्ष स्थानमा छ र अर्को वर्ष हुने एक दिवसीय विश्वकपको ग्लोबल छनोटमा आफ्नो स्थान लगभग बनाइसकेको छ ।

यता नेपाल भने आधा खेल पनि खेलेको छैन । ओमानसँगको खेल लिग टू मा नेपालको लागि १५औँ खेल हुनेछ । नेपाल १४ अङ्कसहित छैटौँ स्थानमा छ ।

जारी शृंखलामा नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । त्यसपछि घरेलु टोली अमेरिकासँगको खेल रोमाञ्चक रूपमा बराबरी भएको थियो ।

ओमानले पहिलो खेलमा अमेरिकासँग हार बेहोरे पनि त्यसपछि नेपाल र अमेरिकालाई हराउँदै लयमा देखिएको छ ।

पहिलो खेलमा समस्याको रूपमा रहेको नेपालको ब्याटिङ दोस्रो खेलमा केही सुधारिएको थियो । ओमानविरुद्ध पनि नेपालले त्यही सुधारिएको लयलाई कायम राख्नु जरुरी छ ।

लिग टू मा ओमानको अन्तिम खेललाई खल्लो बनाउने लक्ष्यमा रहेको नेपाल अघिल्लो हारको बदलासमेत लिन चाहन्छ । तर एक दिवसीयमा ओमान नेपालमाथि हाबी बन्दै आएको छ ।

लिग टू मा अहिलेसम्म खेलेको ५ खेलमा ओमानले ४ खेल जित्दा नेपालले जम्मा १ खेल मात्र जितेको छ ।

यो खेल नेपाली समयअनुसार राति सवा ९ बजेपछि सुरु हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस